देशका एक सय पर्दाबाट एकसाथ प्रदर्शनमा आएको छवि ओझा निर्मित फिल्म 'लोफर'को ओपनिङ शो हाउसफुल हुनबाट चुकेको छ । काठमाण्डौका वितरक गोपाल कायस्थले 'लोफर'को सुरुवाती व्यापार सन्तोषजनक रहेको बताए भने निर्माता ओझा शनिबारबाट फिल्मको व्यापार बढ्नेमा विश्वस्त देखिए ।
काठमाण्डौ जस्तै मोफसलका पर्दामा पनि 'लोफर'को शुक्रबारको व्यापार मध्यम रहेको रिपोर्ट छ । फिल्मीखबरसँग लोफर निर्माता ओझाले दाबी गरे- 'फिल्मको सुरुवाती राम्रो भएको छ । शनिबारबाट हल हाउसफुल हुनेमा ढुक्क छु ।' निर्देशनमा डेव्यु गरेका आदित्य विक्रम लम्सालले दर्शकबाट पाएको प्रतिक्रियाले आफुलाई खुसी मिलेको बताए । निर्देशक लम्सालले भने- 'हिजोसम्म फिल्मबारे म केही बोल्दिन भन्थें तर आजबाट भन्छु, फिल्म राम्रो बनेको छ, हेर्नुस् ।'
यसअघि सिङ्गल पर्दाका दर्शकलाई लक्षित गरी फिल्ममा व्यापारिक सफलता हात पार्दै आएका निर्माता ओझाले लोफरलाई भने मल्टीप्लेक्स केन्द्रित बनाएका छन् । प्रदर्शनरत फिल्म 'लोफर'मा दयाहाङ राई मुख्य कलाकार छन् । साथमा आर्यन सिग्देल, सुशिलराज पाण्डे, कमलमणी नेपाल, रजनी केसी लगायतका कलाकारलाई फिल्ममा देख्न सकिन्छ । सिङ्गल पर्दाका सफल निर्माता ओझालाई मल्टीप्लेक्स केन्द्रित फिल्मबाट आफ्नो साख जोगाउन केही कठिन पर्ने लोफरको सुरुवाती व्यापारले संकेत गरेको छ ।

