Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

रजतपटमा नचम्केका हीराहरु

फिल्मीखबर, काठमाण्डौ, 2013/12/06

रजतपटमा केही यस्ता कलाकार छन् जोसँग चम्किने कला छ तर चम्किरहेका छैनन् । अथवा उनीहरुको चम्काइ सिमित समयको लागी छ । फिल्मीखबरले नेपाली फिल्ममा चम्किने गुण भएर पनि चम्किन नसकेका कलाकार बारे चर्चा गरेको छ ।

 

सुगठिला शरीरका धनी अभिनेता धिरेन शाक्य नेपाली रजतपटमा चम्किन नसकेका कलाकारको रुपमा चित्रित छन् । ह्याण्डसम धिरेन कुनै बेला अभिनेता राजेश हमालका प्रतिस्पर्धी मानिन्थे । तर, राजेश हमालले २५ वर्षसम्म यही क्षेत्रमा राज गरिरहदा धिरेन भने फिल्म लाइनबाट असुरक्षित भएर व्यापार व्यवसायतिर लागेका छन् । चम्किन नसकेका हीरामा सुशिल क्षेत्री पनि पर्न आउँछन् । नृत्य, फाइट र अभिनयमा दख्खल सुशिल फिल्ममा खासै जमेनन् । नम्र र गुणी स्वभावका सुशिल किन चल्न सकेनन् ? उनी आफैं जानुन् ।

 

अभिनेता उत्तम प्रधान पनि नेपाली रजतपटमा नचम्किएका हीराको रुपमा चिनिन्छन् । ब्लकबस्टर फिल्म 'दर्पण छायाँ'मा आँखा देख्न नसक्ने भूमिका निभाएर चम्किएका उत्तम त्यसपछि पछि भने छायाँमा पर्न गए । 'दर्पण छायाँ'कै अर्का अभिनेता दिलिप रायमझीको चम्काइ भने लामो रेसको घोडा बन्न सकेन । नेपाली फिल्ममा चक्लेटी हिरोको छविलाई स्थापित गरेका दिलिपको मोटोपन छायाँमा पर्ने कारक बन्यो । फिल्म चुज गर्न नसक्नु र आफूलाई मेन्टेन गर्न नसक्दा दिलिप छोटो समय मात्र चम्के ।

 

अभिनेता सुमन सिंह झन्डै दुई दर्जन भन्दा बढी फिल्ममा चम्किए । छोटो समयमा निर्माता निर्देशक बिच चम्किएका सुमन अभिनित फिल्म भने चम्किन सकेनन् । सशक्त अभिनयसँगै हिरो लुक्स भएका सुमन पछिल्लो समय त खाली जस्तै छन् । नम्र स्वभावका सुमनलाई फिल्मकर्मी अभागी हिरो भन्न पछि पर्दैनन् । निर्देशक तुलसी घिमिरेको 'दुई किनारा' फिल्मबाट रजतपटमा भित्रिएका अर्का अभिनेता भूपेन चन्द पनि अनलक्की मानिदै आएका छन् । राम्रो अभिनय गर्ने भूपेनका कुनै पनि फिल्म व्यापारिक रुपमा सफल छैनन् ।

 

पढेलेखेका र ह्याण्डसम हिरो निरज बराल यस्तै हिरो हुन् जो चल्न सकेका छैनन् । आफै निर्माता बनेर स्टुपिड मन निर्माण गर्दै गरेका निरजलाई हिट हुन केले रोक्यो ? सायद फिल्ममा हिरो हुने कि गुन्डा भन्ने द्धविधा भएर पो हो कि ! यस्तै अभिनेता मुकेश ढकाल पनि चम्किन नसक्नेको लिस्टमा पर्छन् ।

 

एक पटक चम्केर पुन: चमक देखाउन नसकेका अर्का अभिनेता हुन्, रमित ढुंगाना । कुनैबेला निकै व्यस्त मानिने यि अभिनेतालाई पछिल्लो पुस्ताले आफ्नो मनस्पटलमा राख्न नसकेको बुझिन्छ । छोटो समय चम्किने अभिनेता रमेश उप्रेती पनि हुन् । हाल अमेरिकामा भविष्य कोर्दै गरेका रमेश आफ्नै वानीव्यहोराले नचम्कन सकेको फिल्मकर्मीको बिश्लेषण छ ।

 

अभिनय कला र ग्ल्यामर लुक्स भएर पनि रजतपटमा चम्किन नसक्ने हिरोइनको लिस्टमा मिस नेपाल झरना बज्राचार्यदेखि ऋचा घिमिरेसम्म छन् । नेपाली तथा हिन्दी एक दर्जन फिल्ममा अभिनय गरेकी पूर्व मिस नेपाल झरना बज्रचार्यको फिल्म चल्न सकेनन् । त्यस्तै अभिनय कलासँगै बाठी मानिने अभिनेत्री ऋचा घिमिरेले पनि रजतपटमा राज गर्न सकिनन् ।

 

सुन्दरी अभिनेत्री नन्दिता केसीको सुन्दरताले पर्दामा कुनै जादु छर्न सकेन । नन्दितालाई समयानुसार ग्रुम गर्न नसकेको भन्ने फिल्मकर्मीले आरोप लगाउने गरेका छन् । नन्दिताको अनुहार अहिलेपनि उत्तिकै चम्केको छ तर फिल्ममा भने उनी चम्किन सकेकी छैनन् ।