नेपाली फिल्ममा कुनै समय यस्तो पनि थियो, जतिबेला कलाकारले सुटिङ स्पटमा पुगेपछि मात्रै स्क्रिप्ट पाउँथे । नेपाली फिल्ममा प्राविधि तथा कथावस्तुमा आएको परिवर्तनसँगै पछिल्लो समय सुटिङ पूर्वको वर्कसप पनि अपरिहार्य जस्तै हुन आएको छ ।

यही अपरिहार्यतालाई ध्यान दिदैं सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गर्ने फिल्म 'एउटा साथी'को विगत एक सातादेखि बिजुलीबजारस्थित सलोन फिल्मस्को कार्यालयमा वर्कसप चलाईरहेका छन् । वर्कसपमा फिल्मका कलाकारले आफ्नो पात्रलाई पर्दामा दमदार देखाउन रिहर्सल गर्नमा नै व्यस्त देखिन्थे ।
'फिल्मका कतिपय शब्द र संवाद राम्रो होस् भनी हामी आफैंले पनि मिलायौं,' फिल्म एउटा साथीको वर्कसपमा व्यस्त निर्देशक शोभित बस्नेतका पुत्र शलोन बस्नेत भन्दै थिए- 'वर्कसपले एक अर्कासँग घुलमिल हुन सहयोग गर्यो । जस्ले गर्दा सुटिङ स्पटमा हामीलाई सँगै काम गर्न सहज हुनेछ ।' सलोनसँगै 'होस्टेल' फिल्मबाट डेव्यु गरेकी रिस्ता बस्नेत भन्छिन्- 'वर्कसपले समुहमा काम गर्न सजिलो बनाउँछ । आफ्नो भूमिकालाई सक्दो राम्रो बनाउने अभ्यास गर्दैछौं ।'
सलोन फिल्मस्को प्रस्तुती रहेको 'एउटा साथी' यही महिनाको अन्तिम साताबाट सुटिङमा जाने जानकारी दिदैं निर्देशक लक्ष्मण सुवेदी भन्छन्- 'फिल्मलाई राम्रो बनाउने कडीको रुपमा वर्कसपलाई हामीले लिएका छौं । कलाकारको क्षमतालाई जाँच्ने काम पनि गर्दैछौं । हाम्रो प्रयास उनीहरुमा देखिएको कमजोरीलाई कम गर्नु हो ।' निर्देशक सुवेदीले अझै एक सातासम्म वर्कसप चल्ने बताए ।
.jpg)
रोमान्टिक लभ स्टोरीको फिल्म 'एउटा साथी'मा सलोन र रिस्तासँगै जोन तामाङ, करिश्मा श्रेष्ठ, पुरन थापा, जीवन गिरी, शिशिर भण्डारीको मुख्य भूमिका रहनेछ । फिल्ममा अभिनेत्रीद्धय रुपा राणा, अनु शाह, निर्देशक नारायण पूरीको पनि विशेष भूमिका रहनेछ । सुशिल पंगेनीको स्क्रिप्ट रहेको फिल्ममा टंक बुढाथोकीको संगीत एवं राजेन्द्र खड्गीको द्धन्द्ध निर्देशन रहनेछ । 'एउटा साथी'लाई गणेश कुमार श्रेष्ठले खिच्नेछन् ।

