नेपाली फिल्म क्षेत्रको आ-आफ्नो कालमा सफल मानिएका कलाकार, निर्माता, निर्देशक तथा गायक गायिकाको दाम्पत्य जीवन भने असफल बन्यो ।
रोमान्स किङ भनेर रजतपटमा चिनिने अभिनेता भुवन केसीको दाम्पत्य जीवन दुवै श्रीमतीसँग रोमान्टिक हुन सकेन । पहिलो श्रीमती विजयासँग छुट्टिएका भुवन दोस्रो श्रीमती सुस्मितासँग पनि छुट्टिए । भुवनसँग पहिलो र दोस्रो दुवै श्रीमती तर्फका सन्तान छन् । पछिल्लो पटक भुवनको नाम सेक्सी फिल्मकी हिरोइन जिया केसीसँग जोडिन थालेको छ ।
नेपाली रजतपटमा सर्वाधिक सफल मानिने अभिनेत्री रेखा थापाको दाम्पत्य जीवन पनि असफल बन्न पुग्यो । निर्माता छवि ओझासँगको १० वर्षे वैवाहिक सम्बन्धलाई गत वर्ष मात्रै रेखालाई टुङ्ग्याइन् । फिल्म निर्माणमा सक्रिय रेखा र छवि दुवैले दोस्रो विवाह गरेका छैनन् ।
त्यस्तै एक्सन किङ भनिने अभिनेता शिव श्रेष्ठको पहिलो दाम्पत्य जीवन पनि असफल बन्यो । चितवनकी युवतीसँग दोस्रो विवाह गरेर सन्तान समेत जन्माई सकेका शिवको पछिल्लो प्रेम कहानीले रजतपटमा राम्रै भुइँचलो ल्याइदिएको छ । दोस्रो श्रीमती हुँदाहुँदै शिव श्रेष्ठ विगत पाँच वर्षदेखी प्रेम चक्करमा रहेको खबर सार्वजनिक भएको छ ।
रजतपटमा आफ्नो डिमान्ड हुँदै गर्दा अभिनेत्री संचिता लुइँटेलले पहिलो श्रीमान आकाश विक्रम शाहलाई छोडिन् । आकाशसँग छुट्टिएको केही वर्षमै संचिताले अभिनेता निखिल उप्रेतीसँग दोस्रो विवाह गरिन् । संचिता हाल निखिल तर्फका दुई सन्तान हुर्काउँदै छिन् । अर्की अभिनेत्री रञ्जना शर्मा पनि निर्देशक श्याम भट्टराईलाई डिभोर्स दिएर अमेरिका हानिइन् ।
आफ्नो समयमा फिल्म खेलेर चर्चित बनेका मौसमी मल्ल, गौरी मल्ल, सृजना बस्नेत, पूजा चन्द, सारङ्गा श्रेष्ठ जस्ता अभिनेत्रीको दाम्पत्य जीवन पनि असफल बन्यो । सारङ्गा श्रेष्ठ र पूजा चन्द बाहेक अन्य अभिनेत्रीले हाल एकल जीवन विताइरहेका छन् ।
सौजन्य सुब्बा, पूजा लामा, झरना बज्रचार्य, कृति भट्टराई जस्ता अभिनेत्रीको पनि वैवाहिक जीवन सफल हुन सकेन । त्यस्तै चर्चित पाश्र्व गायकी अञ्जु पन्तले पनि गायक श्रीमान मनोज सेवालाई डिभोर्स दिइन् । गायक यम बरालको म्यारिड लाइफ पनि दिगो हुन सकेन ।

