Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

`कोहिनूर` इन्डक्ल्याप । बजेट हेरेर फिल्म बनाउँदिन : श्रीकृष्ण

फिल्मीखबर, काठमाण्डौ, 2013/12/04

गत भाद्र महिनाबाट सुटिङ शुरू गरिएको फिल्म 'कोहिनूर'को आज (बुधबार) इन्डक्ल्याप गरिएको छ । चाडपर्व र चुनावको असरले सुटिङ ब्रेक हुँदै आएको यो फिल्म खिच्न ४७ दिन लागेको निर्देशक आकाश अधिकारीले फिल्मीखबरलाई जानकारी गराए ।

 

बुधबार बिहानैदेखि दरवारमार्ग स्थित शेर्प मलमा निर्देशक अधिकारी झण्डै एक सयको हाराहारीमा रहेका 'क्राउड' (मानिसको भिड) सम्हाल्न व्यस्त देखिन्थे । निर्देशक अधिकारीलाई फिल्मका निर्माता समेत रहेका अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री स्वेता खड्काले तितिरबितिर 'क्राउड' सम्हाल्न सघाए । 'मुम्बइमा यो भन्दा धेरै 'क्राउड' मिलाउन गार्‍हो भएन तर यहाँ 'प्रोफेश्नल क्राउड' नहुँदा केहि गार्‍हो भयो,' निर्देशक अधिकारीले भने ।

 

बिस्तारै मान्छेहरूको चलपहल बढ्न थालेको दरवारमार्गको व्यस्त सपिङ मलले चिनिएको शेर्पा मलको प्राङ्गणमा 'क्राउड'को एउटै आवाज थियो, यस्ता चोर नेतालाई फाँसी दे, चेलीबेटी बेचबिखन अपराध हो, महिलाको सम्मान गर । 'क्राउड'को भिडबाट सुनिएको प्रस्तुत शब्दले फिल्मको कथा झल्काईरहेको थियो । फिल्मको 'क्लाईमेक्स' खिच्न व्यस्त रहेका निर्देशक अधिकारीले भने- 'फिल्मले महिला बेचबिखनको सामाजिक कथालाई उठाएको छ ।

 

यता 'क्राउड' छिचोल्दै फिल्मीखबरसँग गफिन पुगेका निर्माता तथा अभिनेता श्रीकृष्णले देशको वास्तविक कथामा फिल्म बनाउन निकै गार्‍हो भएको बताए । फिल्मका निकै खर्च गर्नु भएको छ रे ! भन्ने जिज्ञासामा उनले भने- 'फिल्म राम्रो बनाउन म बजेट हेर्दिन । कुनै कम्प्रमाईज नगरी फिल्म बनाएका छौं । 'कहाँ भेटिएला' पछि दर्शकलाई अर्को राम्रो फिल्म दिने हाम्रो कोशिस रहनेछ ।'

 

सांगीतिक फिल्म समेत भनिएको यस फिल्मको श्रीकृष्ण र स्वेता मुख्य पात्र हुन् । नेपा: मुभिजको व्यानरमा निर्माण भएको यस फिल्ममा मिथिला शर्मा, मुकुन्द श्रेष्ठ, सुनिल कटवाल, सम्राट सापकोटा, रमेश अधिकारी, गोपाल अर्याल, सुरेश अधिकारीको साथमा भारतीय कलाकार दीपजंग राणा, रमेश गोयल, अन्जुम खान लगायतको अभिनय हेर्न सकिनेछ । फिल्मका संगीतकार शम्भुजीत बास्कोटालाई पनि बिशेष भूमिकामा दर्शकले हेर्न पाउने छन् ।

 

राजुविक्रम थापाको छायाँकन, राजेन्द्र खड्गीको द्धन्दनिर्देशन, बसन्त श्रेष्ठको नृत्यनिर्देशन, यम थापा र बिशाल सुब्बाको पटकथा तथा यम थापाको संवाद, सत्यराज चौलागाईको सह-निर्देशन रहेको यस फिल्मको कथा भने निर्देशक अधिकारीकै हो । एकसाता पछि पोष्टप्रोडक्सनमा जाने यो फिल्मको रिलिज मिति तय नगरिएपनि बैशाख या श्रावणमा रिलिज गर्ने योजना रहेको श्रीले बताए ।