नेपाली फिल्मका कलाकारको टाउको राखेर सस्तो प्रचार गर्ने प्रचलन पुरानो हैन । पोस्टरमा आफ्नो टाउको राखेर फिल्म बेच्न तम्सिदा अभिनेता राजवल्लभ कोइरालाले चित्त दुखाएका छन् । उनले 'पराइ' फिल्ममा आफ्नो अभिनय नरहेको तर युनिटले मुख्य कलाकार जसरी नै प्रचार प्रसार गरेपछि आपत्ती जनाएका हुन् ।
'राघव' फिल्म मार्फत निर्माता समेत बनेका राजवल्लभले फेसबुकमा स्टाटस पोस्ट गर्दै 'पराइ' फिल्ममा आफ्नो एउटा मात्रै गीतमा अभिनय गरेको र फिल्मको पोस्टरमा प्रयोग गरेको तस्बिर पनि फिल्मसँग सम्बन्धी नरहेको भन्दै दुःख व्यक्त गरेका छन् । राजवल्लभको यस्तो अभिव्यक्तिले फिल्मको व्यापारमा कस्तो असर पर्ने हो ? पौष २६ पछि नै थाहा होला ।
हाल अमेरिकामा रहेका अभिनेता कोइरालाले मंगलबार आफ्नो फेसबुक पोस्ट गरिएको स्टाटसमा लेखेका छन्- 'पराइ फिल्ममा मेरो एउटा गीत मात्र छ । अभिनयका हिसाबले त्यस्तो केही छैन । गीत पनि शिव दाइको आग्रहमा गरिएको हो । त्यसै त दर्शक कम छन्, इम्प्रेसन खराब छ । दिक्क लाग्यो ।'

