फ्राइडे रिलिजको 'लोफर' प्रेसमिटमा अभिनेता आर्यन सिग्देलले फिल्ममा आफ्नो रोलबारे केही पनि खुलाएनन् । आर्यनले भने- 'लोफरमा मेरो फरक रोल छ । किस्मत र कस्ले चोर्यो मेरो मन जस्तै लोफरमा काम गर्दा रमाइलो भयो ।'
किस्मत र कस्ले चोर्यो मेरो मनकी अभिनेत्री रेखा थापालाई चाहिं मिस गर्नु भएन ? भन्ने एक सञ्चारकर्मीको प्रश्नमा आर्यनको जवाफ थियो- 'मैले उहाँलाई सम्झन आवश्यक ठानिन । रमाइलो गर्न छवि मामुसँगै अरु पनि हुनुहुन्थ्यो ।' यसको अर्थ रेखा र आर्यन पहिला रमाईलो गर्थे कि क्या हो ? गाईगुईं चल्यो । रेखा र आर्यनको बोलचाल बन्द भएको लामो समय भैसकेको छ ।
नव निर्देशक आदित्य विक्रम लम्सालले नेपाली फिल्मको प्रतिस्पर्धा हलिउड र बलिउडका फिल्मसँग केवल विषयबस्तुको प्रतिस्पर्धा रहेको बताएका छन् । निर्देशक लम्सालले भने- 'हलिउड तथा बलिउड फिल्मसँग नेपाली फिल्मको मुख्य प्रतिस्पर्धा कन्टेन्टमा नै हो । लोफरको कन्टेन्टलाई बलियो बनाएको छु ।' ३ वर्ष लगाएर 'लोफर'को स्क्रिप्ट तयार गरेको जानकारी दिंदै निर्देशक लम्सालले फिल्मको प्रतिक्रिया राम्रो आउनेमा आफु आशावादी रहेको बताए ।

सिङ्गल स्टेशनका सफल निर्माता छवि ओझाले मल्टीप्लेक्स केन्द्रित 'लोफर' फिल्म बारे भने- 'फिल्म राम्रो बनेको छ । २५ वर्षको फिल्म निर्माण अनुभवलाई लोफरमा लगाएको छु । सम्पूर्ण दर्शकलाई फिल्म हेर्न मेरो अनुरोध छ ।' बाध्यताले गर्दा समाजको खराब व्यक्ति बन्न पुगेको लोफरका भान्टा अर्थात दयाहाङ राईले फिल्ममा वर्तमान समाजको युवा पुस्ताको कथालाई हेर्न सकिने बताए ।

लोफरका अर्का कलाकार कमलमणी नेपालले फिल्ममा निकै नै मिहिनत गरेको बताए भने लोफरकी एक मात्रै हिरोइन रजनी केसीले सफल ब्यानरबाट आफ्नो डेव्यु भएकोमा खुसी व्यक्त गरिन् । लोफरका अर्का कलाकार सुशिलराज पाण्डे भने कार्यक्रममा उपस्थित भएका थिएनन् । फिल्म सफलताको लागी नेपाल चलचित्र संघका महासचिव प्रदीप कुमार उदय र चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले शुभकामना दिए ।

छवि ब्यानरको अर्को फिल्म 'लज्जा'को घोषणा
निर्माता छवि ओझाले 'लज्जा' फिल्म निर्माणको औपचारिक घोषणा गरेका छन् । नवल नेपालले निर्देशन गर्ने 'लज्जा'मा अभिनेता आर्यन सिग्देलको अपोजिटमा म्यूजिक भिडियो मोडल शिल्पा पोखरेल प्रस्तुत हुँदैछिन् । मिथिला शर्मा, किरण केसी, हिउँवाला गौतम 'लज्जा'का अन्य कलाकार हुन् ।
यहि बिहिबारदेखि राजधानीबाट छायाँकन प्रारम्भ हुने फिल्ममा छवि क्याम्पकै प्राविधिक दोहोरिएका छन् । फाइट डिरेक्टर चन्द्र पन्त, क्यामेरा पर्सन मदन कास्याप घिमिरे लज्जाका मुख्य प्राविधिक हुन् । फिल्ममा चेतन सापकोटाको संगीत छ ।

