शुक्रबार प्रदर्शन हुने 'लोफर' फिल्मका लागी आयोजना गरिएको प्रेस समारोहमा नेपाल चलचित्र संघका महासचिव प्रदीप कुमार उदय र सञ्चारकर्मी बिच चर्काचर्की चलेको छ ।

'लोफर'का लागी शुभकामना दिन ड्यासमा अतिथि बनाइएका संघका महासचिव उदयले सञ्चारकर्मीले चलेको फिल्मलाई पनि चलेन भन्दै समाचार सम्प्रेषण गर्ने गरेको आरोप लगाएपछि कार्यक्रममा उपस्थित सञ्चारकर्मीले त्यसको प्रतिवाद गरे । दशैको अवसरमा प्रदर्शन भएको 'काली' फिल्मको सुपरहिट कलेक्सनलाई केही सञ्चार माध्यमले फिल्म चलेन भन्ने समाचार प्रकाशन गरेको भन्दै महासचिव उदयले आपत्ती प्रकट गरेका थिए ।
उदयले कार्यक्रममा भने- 'चलेको फिल्मलाई चल्यो भनेर लेखिदिनुस् । केही सञ्चार माध्यमले चलेको 'काली' फिल्मलाई पनि चलेन भनेर लेखी दिनुभयो । फिल्मले गरेको व्यापार बारे नसोधेरै समाचार प्रकाशन गरियो । यसले फिल्म बजारलाई फाइदा पुर्याउँदैन । फिल्म क्षेत्रलाई घाटामा जान सञ्चारकर्मीको पनि हात छ ।'

निर्माता समेत रहेका उदयको भनाइको प्रतिवादमा चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी उत्रिए । अध्यक्ष गिरीले भने- 'एउटालाई लिएर सबै मिडियालाई मुछ्न पाइँदैन । फिल्मप्रति मिडियाले गर्ने राम्रा पक्षको बारेमा पनि उल्लेख गर्न आवश्यक छ ।' त्यस्तै कार्यक्रममा उपस्थित अन्य सञ्चारकर्मीले फिल्मले गर्ने व्यापारको सही रिपोर्ट वितरकले नदिने गरेको गुनासो गरेका थिए ।
लोफरको कार्यक्रममा रेखा थापाको फिल्म 'काली' बारे अनावश्यक प्रसंग जोडिदा निर्माता छवि ओझासँगै अन्य 'लोफर' युनिट खुसी देखिएन ।

