अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)’ यहि मंसिर २६ देखि ३० गतेसम्म प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा चल्ने भएको छ । महोत्सवको उद्घाटन सहारा शर्माद्वारा निर्देशित नेपाली फिक्सन फिल्म ‘इन्द्रेणी खोज्दै जाँदा’ प्रदर्शनीबाट हुनेछ ।

राजधानीमा आयोजना गरिएको प्रेस समारोहमा दिईएको जानकारी अनुसार किम्फको समापन क्याप्टेन जोहन नोयलको फिल्म ‘द इपिक अफ एभरेस्ट’को प्रदर्शनीबाट गरिनेछ । हिमाल एसोसियसनको आयोजनामा हुन लागेको महोत्सवमा यसपालि २० देशका ४९ फिल्म छानिएको छ । साहसिक यात्रा, पर्वतारोहण, द्वन्द्व, संस्कृति, गरिबी, विकास, लैंगिकता, भूमण्डलीकरण र बसाइँसराइ जस्ता विषयमा बनेका डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म महोत्सवमा परेका छन् ।
'ह्वाई पोभर्टी' शीर्षकमा युवा फिल्मकर्मीले बनाएका छोटा फिल्महरुको प्रतिस्पर्धा पनि महोत्सवमा समावेश गरेको छ । किम्फमा सहभागी फिल्महरुलाई अन्तर्राष्ट्रिय र नेपाल पानोरामा गरी दुई प्रतियोगितात्मक खण्डमा छुट्याइएको छ । किम्फमा यसपालि तीन सदस्यीय अन्तर्राष्ट्रिय निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका विजेताहरूको छनोट गर्नेछ । विजेताहरूलाई क्रमश: १५००, १००० र ५०० अमेरिकी डलर पुरस्कार दिइनेछ ।
नेपाल प्यानोरमातर्फ उत्कृष्ट डकुमेन्ट्रीलाई ५० हजार र उत्कृष्ट फिक्सन फिल्मका लागि २५ हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ । त्यस्तै दर्शकहरुको मतका आधारमा कुनै एक फिल्मलाई अडियन्स अवार्ड पनि प्रदान गरिनेछ।

