वर्ष ७० को पूर्वाधमा प्रदर्शन भएको फिल्म 'नोटवुक'मा समावेश 'गाला रातै...' बोलको गीत राम्रैसँग चल्यो । यो गीतले फिल्मको व्यापारलाई कत्तिको फाइदा पुर्यो ? निर्मातालाई थाहा नै होला । तर, मिलन अमात्य र प्रल्हाद तिमल्सिनाको जोडीलाई भने गीतले निकै फाइदा पुर्याएको छ ।
दशैं रिलिजको 'काली' फिल्ममा समावेश 'स्लोली स्लोली...' बोलको गीत सर्वाधिक हिट भएपछि त मिलन र प्रल्हादको जोडी नेपाली फिल्मको संगीत बजारमा निकै व्यस्त भएको छ । सँगै 'गाला रातै...' र 'स्लोली स्लोली...'का संगीतकार बसन्त सापकोटालाई पनि भ्याई नभ्याई छ । केही समय अघि सम्पन्न फिल्मीखबर डिजिटल अवार्डमा संगीतकारको अवार्ड अर्जुन पोखरेलले उचाले पनि उत्कृष्ट पाश्र्व गायकको अवार्डको भागीदार 'गाला रातै...' गीतबाट प्रल्हाद तिमल्सिना भए । सोही गीतबाट मिलन अमात्यले पनि उत्कृष्ट पाश्र्व गायिकाको अवार्ड उचालिन् ।
दुई वर्ष अघिसम्म व्यवसाय सञ्चालनमा व्यस्त प्रल्हाद अहिले भने गीत रेकर्डिङमा व्यस्त छन् । हेटौंडामा जन्मिएका प्रल्हाद भन्छन्- 'दिनमा कम्तीमा एउटा फिल्मको गीत रेकर्ड गराउँछु ।' छोटो समयै पाएको उपलब्धी बारे प्रल्हादको ठम्याइ छ- 'मैले अवसर पाएँ । अवसरलाई मिहेनत गरेँ । मेरो मिहेनतलाई दर्शक तथा स्रोताले मन पराउनु भयो ।'

नोटवुकको गीत नै आफ्नो पहिलो फिल्मी गीत रहेको बताउने प्रल्हादले हालसम्म २ दर्जन फिल्मका गीतमा स्वर रेकर्ड गराइसकेका छन् । प्रल्हाद थप्छन्- 'मैंले स्वर दिएका थुप्रै यस्ता गीत छन् जुन दर्शक तथा स्रोताले मन पराएर गुनगुनाउनु हुनेछ ।'
वर्तमान फिल्मी बजारका व्यस्त संगीतकार बसन्त सापकोटाको संगीतमा गायक तिमल्सिनाले फिल्म 'अधकट्टी'को लागी एउटा गीत रेकर्ड गराएका छन् । सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गर्ने यस फिल्ममा राजन इशानको संगीतमा यसअघि नै ४ गीतहरु रेकर्ड भैसकेका छन् । निर्देशक आचार्यले प्रल्हादले निकै राम्रो स्वर दिएको बताए ।

