नेपाली फिल्मको नृत्य निर्देशनमा धेरै सुनिएको नाम हो, गोविन्द राई । अग्रज नृत्य निर्देशक कमल राईका चेला गोविन्दले एक सय भन्दा बढी फिल्ममा नृत्य निर्देशक भएर काम गरिसके ।
झन्डै २२ वर्षदेखि क्यामेरा अगाडीका कलाकारलाई नाच्न सिकाउँदै आएका निर्देशक राईले विगत १ वर्ष भने नृत्य निर्देशनबाट विश्राम लिएका थिए । कारण थियो, युवापुस्तालाई लक्षित गरिएको फिल्म 'नागबेली' निर्देशनको जिम्मा । केही विदेशी मुलुकमा प्रदर्शन भएर राम्रो प्रतिक्रिया पाइसकेको गोविन्द निर्देशित 'नागबेली'को नेपाल रिलिज तोकिएको छैन । फिल्म निर्देशन र नव प्रवेशी नृत्य निर्देशकले काममा कटौती गरिदिएपछि करिब एक वर्ष जसो विश्राम लिएका गोविन्द अहिले सुटिङ सेटमा व्यस्त देखिन थालेका छन् ।
निर्देशक राई हाल मोफसलमा छायाँकन भैरहेको फिल्म 'संजोक'का कलाकारलाई नृत्य सिकाइ रहेका छन् । निर्देशक राई भन्छन्- 'म अब पुरानो युवा नृत्य निर्देशक गोविन्द राई भएर सुटिङ सेटमा निस्किएको छु ।' नेपाली फिल्मका यी प्रौढ नृत्य निर्देशकले नयाँ कलाकार बिच धेरै फरक पाएछन् । 'नयाँ र पुराना कलाकार बिच फरक यसरी छुट्याए, पुराना कलाकारमा एक खालको इमान्दारी र जिम्मेवारी बोध हुन्थ्यो । नयाँमा यी गुण अलि कम पाएँ । तर, नयाँ पनि मिहेनत गर्नमा भने इच्छुक छन्', राईले भने ।
शुष्मा कार्की, सविन श्रेष्ठ र प्रज्जवल गिरीलाई नृत्य निर्देशन गराईरहेका निर्देशक राईले थपे- 'अब म पूर्ण रुपमा नृत्य निर्देशनमा व्यस्त हुनेछ । सम्भव भएसम्म फिल्म निर्देशन पनि गर्ने योजना छ ।' नृत्य निर्देशक राईले अन्य फिल्ममा काम गर्ने कुरा भैरहेको जानकरी दिए ।

