निर्देशक सबिर श्रेष्ठको काइट्स इन्टरटेनमेन्टले फिल्म निर्माण गर्ने भएको छ । फिल्म 'हे राम' निर्माण गर्न लागिएको निर्देशक श्रेष्ठले फिल्मीखबरलाई बताए । आफ्नै निर्देशन रहने फिल्मको हाल स्क्रिप्ट शिवम अधिकारीले लेखिरहेका छन् ।
वैशाखबाट फ्लोर ज्वइन गर्ने फिल्मका कलाकार भने फाइनल भैसकेका छैनन् । बसन्त सापकोटाले संगीतको काम गरिरहेको जानकारी दिंदै निर्देशक तथा निर्माता श्रेष्ठले भने- 'कलाकारको खोजी भैरहेको छ । केही सातामै हामी कलाकारको टुङ्गो लगाउँछौं ।' हे राम पूर्ण रुपमा कमर्सियल फिल्म हुने सबिर बताउँछन् । भन्छन्- 'फिल्म हिरो ओरिएन्टेड हनेछ । एक्सनलाई हामीले मुख्य प्राथामिकतामा राखेका छौं ।'
यसअघि सबिरले 'रेड वाइन' नामक फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । यसबारे उनले भने- 'रेड वाइन फरक विषय वस्तुमा आधारित फिल्म हो । अहिले कर्मसियल फिल्मकै बजार देखिएकाले 'हे राम' निर्माणमा जुटेको हुँ ।' रेखा फिल्मस्को सुपरहिट फिल्म 'कस्ले चोर्यो मेरो मन'बाट निर्देशनमा डेव्यु गरेका सबिर हालका व्यस्त निर्देशक मध्ये पर्दछन् ।
दशैं रिलिज 'काली' फिल्मका सुपरहिट निर्देशकको 'आधि बाटो' पोष्टप्रोडक्सनमा छ भने रेखा थापाकै अर्को प्रोजेक्ट 'कमला'को पनि सबिरले नै निर्देशन गर्दैछन् । अन्य ब्यानरका फिल्मलाई कमर्सियल निर्देशक श्रेष्ठले आफ्नै ब्यानररको फिल्म चाहिं कस्तो बनाउँछन् ? प्रतिक्षाको विषय हुनेछ ।

