गृह जिल्ला चितवनबाट इयर एम्वुलेन्स हुँदै राजधानी ल्याइएका निर्देशक शिव रेग्मीको चिन्ताजनक स्वास्थ्य अवस्थाप्रति फिल्म सम्वद्ध संघ संस्था एवम् व्यक्तिले चिन्ता व्यक्त गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
बल्खुस्थित बयोधा अस्पतालको भेन्टिलेटरमा राखिएका निर्देशक रेग्मीलाई निर्देशक समाजको टोलीले मंसिर १३ गते भेट गरेको छ । समाजका अध्यक्ष दिनेश डिसीले निर्देशक रेग्मीको अवस्था चिन्ताजनक रहेको जानकारी दिदैं निर्देशक समाजले शिव रेग्मीको थप उपचारका लागी दिल्ली लैजान सहयोग गर्ने समेत बताए । डिसीले फिल्मीखबरलाई भने- 'शिव रेग्मीको उपचारको लागी निर्देशक समाजले भारतीय राजदुतावासमा विशेष पहल गर्नेछ ।'
निर्देशक डिसीले बताए अनुसार शिव रेग्मीलाई कम्तीमा चार दिन बयोधा अस्पतालमा राखिनेछ । हालको स्वास्थ्यमा थप सुधार नआए इयर एम्वुलेन्सै दिल्लीस्थित गंगाराम अस्पतालमा लगिने समेत निर्देशक डिसीले जानकारी दिए । डिसीले भने- 'अर्ध सरकारी अस्पतालमा डिस्काउन्टको व्यवस्था गर्न भारतिय राजदुतमा जानकारी गराएका छौं । सहयोग पाउने अपेक्षा छ ।' इयर एम्बुलेन्सबाट लैजान परे रू ९ लाख खर्च हुने बताईएको छ ।
नेपाली फिल्मका सुपरहिट निर्देशक शिव रेग्मीको दुई वटै मृगौलाले काम गर्न छाडेपछि विगत ६ महिनादेखि नियमित डाक्टरी उपचारमा छन् । निर्देशक रेग्मीको उपचारमा चलचित्र विकास वोर्ड, नेपाल चलचित्र संघ सहित विभिन्न व्यक्तिले आर्थिक सहयोग उपलब्ध गराएका छन् । फिल्मीखबर परिवार निर्देशक रेग्मीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

