छवि ओझा चलाख निर्माता भनेर चिनिन्छन् । छविलाई आफ्नो फिल्मको प्रचार कसरी गर्नुपर्छ भन्ने राम्रो ज्ञान छ । आक्रमक मिडिया प्रचार गरेकै भरमा हालसम्मका फिल्मबाट छविले घाटा खाएका छैनन् । सुख्खा लागेको फिल्म बजारमा समेत छविका फिल्मले नाफा कमाएका छन् ।
मंसिर २१ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्म 'लोफर'मा छविले रेखासँग बोलचाल बन्द भएका अभिनेता आर्यन सिग्देललाई रि-इन्ट्री गराए । आफ्नै फिल्म 'किस्मत'बाट रजतपटमा प्रवेश गराएका आर्यनलाई छविले लोफरमा सलमान खान स्टाइलमा प्रस्तुत गरेको बुझिएको छ । पर्दामा सलमान जस्तै देखिने आर्यनलाई छविले प्रचार प्रसारमा भने माइनस गरे जस्तो देखिन्छ ।
'लोफर'को प्रोमोमा दयाहाङ राईलाई हाइलाइट गरिएको छ । मिडियामा छविले नव अभिनेत्री रजनी केसीलाई स्थान दिएको पाइन्छ । 'लोफर'को विषयलाई लिएर आर्यनले अहिलेसम्म कुनै पनि मिडियामा बोलेका छैनन् । आफ्नै फिल्म 'नोभेम्वर रेन'को सुटिङमा व्यस्त आर्यनसँग मिडियालाई समय दिन फुर्सद नहोला । तर, निर्माता ओझाले नै किन आर्यनलाई मिडिया सामु ल्याउन चाहेका छैनन् ? विषय गम्भिर नभएपनि चाखलाग्दो भने पक्कै छ ।
बुझ्नमा आए अनुसार यसअघिका आर्यन अभिनित फिल्मले सफलता हात नपरेपछि छवि आर्यनलाई 'लोफर'को प्रचारमा सहभागी गराउने मनस्थितिमा छैनन् । त्यसैले छविले आर्यनलाई छोडेर फिल्मकी एक मात्रै हिरोइन रजनी र दयाहाङलाई प्रचार प्रसारमा सहभागी गराउँदैछन् । फिल्मको प्रचारमा आर्यनलाई सहभागी गराइएन या सहभागी हुन चाहेनन् ? खास कुरो छवि आर्यनलाई नै थाहा होला ।

