कलाकार दयाहाङ राई यस वर्ष लक्की देखिएका छन् । युवा दर्शक बिच निकै नै लोकप्रिय भएको 'लुट' फिल्ममा 'गोफ्ले'को भूमिकामा प्रस्तुत भएका दयाहाङका यो वर्ष चार वटा फिल्म रिलिज हुने पक्का पक्की भएको छ ।
हाल दयाहाङ अभिनेता राजेश हमालसँगै स्टेज ड्रामा 'कोर्ट मार्सल'मा व्यस्त छन् । यस अघिका फिल्ममा सहायक भूमिकामा देखिदैं आएका दयाहाङ अभिनित फिल्म 'लोफर' आउँदो साता (मंसिर १४ गते) प्रदर्शन हुँदैछ । छबिराज ओझा निर्मित फिल्ममा दयाह्याङको मुख्य अभिनय छ । दयासँगै लोफरमा आर्यन सिग्देल, सुशिलराज पाण्डे, कमलमणी नेपाल, नव अभिनेत्री रजनी केसीको मुख्य अभिनय छ । फिल्मका निर्देशक आदित्य विक्रम लम्साल हुन् ।
'लोफर' पछि दयाह्याङ अभिनित फिल्म 'झोले' फागुन ९ गते प्रदर्शनको लागी तयार हुँदैछ । यस फिल्ममा पनि दयाह्याङको मुख्य अभिनय रहेको छ । दिपेन्द्र के. खनाल निर्देशित फिल्ममा दयासँगको अपोजिटमा अभिनेत्री प्रियंका कार्की छिन् । 'झोले' डार्क कमेडी वेसको फिल्म हो ।
'लोफर' र 'झोले'मा देखिएका दयाह्याङ यो वर्ष 'लुट' निर्देशक निश्चल बस्नेतको दोस्रो फिल्म 'टलक जंग भुर्सेस टुल्के'मा पनि देखिने सम्भावना छ । मल्टिप्लेक्स स्टेशनमा प्रोमो बज्न शुरू गरिसकेकाले 'टलक जंग भुर्सेस टुल्के' वर्ष ०७० मै प्रदर्शन हुने सम्भावना बढी छ । रविन्द्र वाँनिया निर्मित फिल्ममा दयाहाङसँगै सुशान्त मैनाली, ऋचा शर्मा, खगेन्द्र लामिछाने लगायतको मुख्य भूमिका छ ।
यस्तै दयाले अभिनय गरेको अर्को फिल्म 'कबड्डी' पनि यहि बर्ष रिलिज हुने सम्भावना देखिएको छ । राम गुरूङले निर्देशन गरेको यो फिल्ममा दयासँगै 'लुट' फिल्मका निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।

