सानो पर्दाको चर्चित साप्ताहिक हाँस्य टेलिफिल्म मेरी बास्सैमा विभिन्न अवतारमा देखिंदै आएका कलाकार सिताराम कट्टेल (धुर्मुस) लाई अब ठुलो पर्दामा पनि भिन्न-भिन्न अवतारमा देख्न पाइने भएको छ ।
पौष २६ गते प्रदर्शन हुने 'छ एकान छ' फिल्ममा नायक बनेका धुर्मुसलाई लेखक तथा निर्देशक विकास आचार्यले फिल्म 'नाइ नभन्नु ल २' मा तीन भिन्न अवतारमा प्रस्तुत गरेका छन् । नेतादेखि नेवारी समुदायका मुस्कान पासा पात्रसम्मको रोलमा देखिने सितारामलाई फिल्म 'नाइ नभन्नु ल २' मा भने ज्योतिष, पागल र साधारण व्यक्तिको भुमिकामा देख्न सकिनेछ ।
फिल्ममा निभाएको यी तीन क्यारेक्टर बारे दर्शकले दिने प्रतिक्रियालाई लिएर आफु निकै नै उत्साहित भएको प्रतिक्रिया सितारामले दिए । फिल्मीखबरसँग उनले भने- 'सानो पर्दा र ठुलो पर्दामा मलाई दर्शकले भिन्न रुपमा देख्न सक्नुहुनेछ । फिल्ममा मैले फरक गर्ने कोशिस गरेको छु ।' निर्देशक आचार्यले पनि धुर्मुसको अभिनयले दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताए । 'फिल्म हेर्दा रोईरहने दर्शकलाई धुर्मुसले निर्वाह गरेको चरित्रले हँसाउने छ,' आचार्यले भने ।
बाल कलाकार अनुभव रेग्मीको वरिपरी घुम्ने 'नाइ नभन्नु ल २' मा सितारासँगै जीवन लुईटेल, सुरज सिंह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, वर्षा सिवाकोटी, सुज्ञानी भट्टराईको अभिनयलाई पनि देख्न सकिन्छ । नेपाली नयाँ वर्षमा प्रदर्शन लक्षित फिल्मको आज (मंसिर १३ गते) सुटिङ सम्पन्न हुँदैछ । एउटा गीतको भने केही समय पछि सुटिङ गरिनेछ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

