अनुमानित तालिकानुसार सुटिङ नसकिएपछि अभिनेता आर्यन सिग्देलको फिल्म 'नोभेम्वर रेन' आउने अंग्रेजी वर्षको भ्यालेनटाइन डेमा प्रदर्शन नहुने जस्तो देखिएको छ । अर्का लगानीकर्ता सुवार गिरीले दिएको जानकारी अनुसार फिल्मको सुटिङ समयै नसकिएपछि 'नोभेम्वर रेन' भ्यालेनटाइन डेमा प्रदर्शन गर्न असमर्थ हुने जस्तो देखिएको छ ।
आउने साता फिल्मको छायाँकन सकिने जानकारी दिदैं सुवास भन्छन्- 'पूर्व घोषित मितिमै फिल्म रिलिज गर्ने हाम्रो प्रयास रहन्छ । तर, भ्यालेनटाइन नै भेट्टाउन मुस्किल पर्ने जस्तो देखिएको छ ।' चाडपर्व, बन्द, निर्वाचनले गर्दा अन्य फिल्म जस्तै 'नोभेम्वर रेन' युनिटले पनि सुटिङ स्थगन गरेको थियो । जसको असर फिल्म प्रदर्शन गर्ने मितिमा देखिएको छ ।
दिनेश राउतले निर्देशन गर्दै गरेको फिल्म भ्यालेनटाइनमा रिलिज असम्भव जस्तो देखिएपछि सोही मितिमा सम्झना रौनियार उप्रेती निर्देशित फिल्म 'मेघा' प्रदर्शन हुने भएको छ । निर्देशक उप्रेतीले आफ्नो पहिलो फिल्म भ्यालेनटाइनमा प्रदर्शन हुने जानकारी दिएकी छिन् ।
आर्यनकी हिरोइन नम्रता नै मेघा फिल्मकी मुख्य हिरोइन हुन् । मेघामा नम्रतालाई सिद्धार्थ कोइराला र रेमनदास श्रेष्ठले साथ दिएका छन् । आउँदो अंग्रेजी वर्षको भ्यालेनटाइन आर्यनको विपक्ष र अभिनेत्री नम्रता श्रेष्ठको पक्षमा देखिंदै छ ।

