Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

लगानी गरेर हिरो र हिरोइन बन्नेहरु चलेनन् !

फिल्मीखबर, काठमाण्डौ, 2013/11/26

फिल्मको हिरो हिरोइन बन्ने धेरैले सपना पालेका हुन्छन् । तर, सहजै फिल्ममा हिरो हिरोइन बन्न भने मुस्किल नै छ । फिल्मको हिरोइन हुन निर्माता निर्देशकको नजिक हुनुपर्छ र हिरो हुन पैसा लगानी गर्नुपर्छ, जानकारहरु यसै भन्छन् । आफैले पैसा लगानी गरेर फिल्मको हिरो हिरोइन र हिरो हिरोइन भएर फिल्ममा लगानी गर्नेहरुको बारेमा फिल्मीखबरले छोटो चर्चा गरेको छ ।

 

अभिनेता सिमान्त उदास अहिले फिल्म क्षेत्रमा सक्रिय छैनन् । तर, उनी लगानी गरेर फिल्मको हिरो भएका हुन् । फिल्ममा लगानी गरेर सिमान्त हिरो भएका थिए । फिल्म उस्तो चलने सिमान्त पनि नेपाली रजतपटमा हिरो भएर चल्न सकेनन् । त्यस्तै 'सोल्टिनी'मा लोकेन्द्र कार्की हिरो भए । 'सोल्टिनी'पछि 'शासन' फिल्म निर्माण गरेका लोकेन्द्र अन्य ब्यानरका फिल्ममा देखिएनन् । 'शासन' व्यापारिक रुपमा असफल भएपछि लोकेन्द्र फिल्म निर्माणमा समेत ब्याक हुन सकेका छैनन् ।

 

वर्तमान नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का आफ्नो लगानी रहेका फिल्ममा आफैं हिरो बन्ने गर्दछन् । 'आवाज', 'दशगजा' र निर्माणधिन फिल्म 'भिमदत्त'का मुख्य कलाकार नवल हुन् । निर्देशक आकाश पनि आफुले निर्माण गरेका फिल्ममा आफै हिरो बन्ने गर्दछन् । आकाशले निर्माण तथा निर्देशन गरेका 'पन्छी', 'क्रोध', 'काठमाण्डौ' जस्ता फिल्मका हिरो उनी नै हुन् ।

 

त्यस्तै 'गोरखा रक्षक' फिल्मबाट सन्नी वि आफैं लगानी गरेर हिरो बने । 'गोरखा रक्षक' त चलेन नै सन्नी पनि चलेनन् । अभिनेता विरेन श्रेष्ठ पनि लगानीकर्ता हिरो हुन् । उनले 'मिस्टर मंगले' र 'मनले मनलाई छुन्छ' फिल्म निर्माण गरे । जुन फिल्मका मुख्य हिरो विरेन हुन् । 'वुद्ध वर्न इन नेपाल' फिल्म निर्माणमा व्यस्त अभिनेता रमित ढङ्गाना आफ्नै लगानी रहेको 'माया नमार' फिल्मबाट रजतपटमा भित्रिएका हन् । एक समय राम्रै चलेका रमित केही समय अमेरिका बसेपछि पुनः फिल्म निर्माणमा व्यस्त छन् ।

 

यही वर्ष प्रदर्शनमा आएको 'वाउन्सर' फिल्ममा प्रशान्त गिरी लगानी गरेर हिरो भए । 'वाउन्सर'ले प्रशान्तको हिरो हुने रहर मेटायो मात्रै अरु केही उपलब्धी हुन सकेन । निर्माता रोज राणाले पनि हिरो हुने रहर आफ्नै फिल्मबाट पुरा गरे । रोज आफ्नै लगानी रहेको 'म छ नि तिम्रो' फिल्मका हिरो हुन् । सुरज आरडी र सुधांशु जोशी पनि आफ्नो लगानीमा आफै हिरो भएका कलाकार हुन् । सुरजले 'विन्ती पत्र' र 'माई लाईफ' तथा सुधांशुले 'नेपाल' फिल्ममा लगानी गरेका थिए ।

 

अश्लिल फिल्म निर्माण गर्ने आरोप खेपेका दिनेश थापा र जिके शर्माले पनि फिल्ममा लगानी गरेर हिरो हुने रहर पुरा गरे । पछिल्लो समय फिल्म वितरणमा पनि हात हालेका गोविन्द शाही लगानी गरेरै हिरो बन्न भ्याए । 'कहाँ छौं कहाँ', 'संसार आफ्नै' र 'पराइ'मा लगानी गरेर गोविन्दले हिरो हुने रहर मेटे । फिल्म 'बाटो मुनिको फूल'मा लगानी गरेर गायक यश कुसमार नायक भए । यो फिल्मबाट उनले नव अभिनेताको अवार्ड समेत उचाले । 'विर' र 'आधी बाटो'मा यश कुमार बिना लगानीका हिरो भएका छन् ।

 

हिरो मात्रै हैन लगानी गरेर हिरोइन बन्नेहरुको लिस्ट पनि छ । हिरोइन हुने रहर पूरा गर्न जेनी कुवँरले 'हलचल' नामक फिल्म निर्माण गरिन् । हलचलले व्यापारमा कुनै हलचल ल्याउन सकेन । जेनी पनि हिरोइनको रुपमा चलिनन् । उमा वेवीले पनि आफ्नै लागी फिल्म बनाइन् । सिक्किमेली उमाले आफ्नै लगानीमा 'इशारा' नामक फिल्म निर्माण गरिन् । उमाको इशारालाई दर्शकले मतलब गरेनन्, , निर्माताले उमालाई पत्याएनन् ।

 

केही समय अघि मात्रै 'मेरो मनको साथी' नामक फिल्म प्रदर्शनमा आएको थियो । जस्को मुख्य हिरोइन थिइन्, जस्मिन श्रेष्ठ । 'मेरो मनको साथी' नामक फिल्म जस्मिनकै लागि निर्माण गरिएको बताईन्छ । जस्मिन कति बेला आइन् र गइन् ? कसैलाई पत्तो भएन ।

 

नेपाली रजतपटमा लगानी गरेर हिरो बन्ने भन्दा पनि हिरो भएपछि फिल्ममा लगानी गर्नेको बाहुल्यता छ । अभिनेता सरोज खनाल, राजेश हमाल, उत्तम प्रधान, जीवन लुइँटेल बाहेक प्रायः हिरोले फिल्ममा लगानी गरेका छन् । अभिनेता भुवन केसी सफल हिरो मात्रै नभएर सफल निर्माता पनि हुन् । भुवनले 'करोडपति', 'नेपाली बाबु', 'म तिमि बिना मरिहाल्छु', 'साथी म तिम्रो' जस्ता फिल्म निर्माण गरेका छन् । अभिनेता शिब श्रेष्ठले पनि 'चिनो' फिल्ममा लगानी गरेको बुझिएको छ ।

 

त्यस्तै अभिनेता श्रीकृष्ण श्रेष्ठले ब्लकबस्टर फिल्म 'कहाँ भेटिएला' फिल्म निर्माण गरे । श्रीकृष्ण हाल आकाश अधिकारीलाई निर्देशनको जिम्मा दिएर 'कोहिनुर' नामक फिल्म निर्माण गर्न व्यस्त छन् । दिलिप रायमाझीले पनि फिल्म निर्माण गरेका छन् । दिलिपले पछिल्लो पटक निर्माण गरेको 'मिस यू' फिल्मले चर्चा कमायो तर पैसा कमाएन । नेपाली रजतपटमा सक्रिय नरहेका अभिनेता निखिल उप्रेतीले पनि फिल्ममा लगानी गरे । निखिलले 'सावधान' र 'निशाना' नामक फिल्म निर्माण गरेका थिए ।

 

एकै वर्ष रजतपटमा डेव्यु गरेका अभिनेता राजवल्लव कोइराला र आर्यन सिग्देलका फिल्म भने निर्माण क्रममा छन् । राजवल्लवले 'राघव' र आर्यनले 'नोभेम्वर रेन' फिल्म निर्माण गर्दैछन् । यस्तै अर्का अभिनेता निरज बरालले पनि 'स्टुपिड मन' फिल्म निर्माण गर्दैछन् । यी तीन हिरोका फिल्म हिट कि फल्प ? प्रदर्शन नभएसम्म प्रतिक्षा गर्रौ ।

 

फिल्मको लगानीमा हिरोइन पनि कस्सिएका छन् । सफल फिल्म 'गिरफ्तार' निर्माण गरेकी अभिनेत्री मौसमी मल्लद्धारा निर्मित पछिल्लो फिल्म 'समय' फल्प बन्न पुग्यो । मौसमीले आफ्नो लगानी रहेको फिल्ममा छोरा विक्की मल्ललाई हिरो बनाइन् । अभिनेत्री करिश्मा मानान्धरले 'ढुकढुकी' र 'बाबु साहेव' निर्माण गरिन् । यी दुई फिल्मको निराशजनक व्यापारबाट करिश्मालाई अमेरिका पुर्यायो । अमेरिकाबाट नेपाल ब्याक भएपछि करिश्मा पुनः फिल्म सुटिङमा व्यस्त हुन थालेकी छिन् ।

 

सफल निर्मात्री समेत सावित भएकी अभिनेत्री झरना थापा फिल्म 'फेसबुक'बाट भने निराश बनिन् । पछिल्लो फिल्म 'फेसबुक'ले सोचे अनुरुप व्यापार गर्न नसकेपछि झरना फिल्म निर्माणमा ब्याक हुन सकेकी छैनन् । अभिनयमा पनि झरनाको गति सुस्त हुंदै गएको छ । अभिनेत्री रेखा थापा सफल अभिनेत्रीसँगै सफल निर्मात्री पनि हुन् । निर्माता छवि ओझासँग इन रिलेसनसिपमा रहंदा अधिकांश सफल फिल्म दिएकी रेखा व्रेकअप पश्चात पनि सफल निर्मात्री भएकी छिन् । एक्लैले निर्माण गरेको 'काली' फिल्म सुपरहिट भएपछि रेखा अर्को फिल्म निर्माण गर्न जुटेकी छिन् ।

 

रेखा सँगै हिरो फिल्ममा रजतपटमा प्रवेश गरेकी अभिनेत्री पूजना स्त्रीले पनि फिल्म निर्माणको घोषणा गरेकी छिन् । निर्मल शर्मा गैंडाले निर्देशन गर्ने 'चकलेट' फिल्ममा पूजना स्वयम् मुख्य भूमीकामा प्रस्तुत हुने बताइएको छ । केही फिल्ममा पहिरन उतारेर चर्चामा आएकी पूजना सफल निर्मात्री बन्लिन् ? यस्तै अर्की अभिनेत्री शुभेच्छा थापाले पनि फिल्म निर्माण गरेकी छिन् । असफल अभिनेत्रीसँगै उनको 'को हुँ म' फिल्म पनि असफल भयो । उनले निर्माण गरेको अर्को फिल्म 'मिस नेपाल' प्रदर्शनको क्रममा छ ।