फिल्म खेल्ने चाहना छ ? त्यो पनि आफुले रोजे अनुसार चरित्र छानेर । तपाईलाई लाग्ला, यस्तो पनि कहिँ हुन्छ ? पछिल्लो समय नेपाली फिल्म उद्योगमा मात्रै पैसा हेरिन्छ । कला र चरित्र नबुझि जसले लगानी गर्छ उसैलाई फिल्ममा हिरो लिईन्छ । तर निर्माणको प्रक्रियामा रहेको एउटा फिल्मले भने केहि फरक तरिकाले कलाकारको खोजी गरिरहेको छ ।

कलाकारहरुले फिल्ममा आफुले चाहे अनुसारको चरित्र रोज्न सक्नेछन् । त्यसका लागि कलाकारहरुमा ट्यालेन्ट हुन भने जरुरी छ । नेपाली फिल्म 'जंगे'का लागि कलाकार खोजीरहेको निर्माण कम्पनीले कलाकारहरुको चरित्र समेत खुलाएर अडिसनमा आउन सार्वजनिक आह्वान गरेको छ । ‘जुनसुकै उमेर समुहका अभिनय प्रतिभाहरुले अडिसनमा सहभागिता जनाउन पाउनेछन्,’ जंगेका निर्माता समेत रहेका सिनेम्याटोग्राफर शुसन प्रजापतिले भने–‘हामीले उत्कृष्ट प्रतिभा छनौट गरेर फिल्ममा समावेश गर्नेछौँ ।’
जंगे फिल्मले आफ्नो अफिसियल फेसबुक पेजमार्फत छुट्टाछुट्टै चरित्रका ११ जना कलाकारको आवश्यकता रहेको जानकारी गराएको छ । उसले कलाकारहरुलाई अडिसनका लागि आह्वान गर्दै फोटो र जानकारी पठाउन ईमेल ठेगाना समेत फेसबुकमार्फत नै प्रकाशन गरेको छ । केहि दिनसम्म कलाकारहरुको आवेदन लिईसकेपछि अडिसनमार्फत कलाकार छनौट गरेर उनीहरुलाई कार्यशालामा राखिने फिल्मको निर्माण पक्षले जनाएको छ ।
उत्कल थापाले निर्देशन गर्ने यो फिल्मका लागि प्रमुख भुमिकामा सुरजसिंह ठकुरी भने फाईनल भैसकेका छन् । सुरज यो फिल्ममा जंगेको भूमिकामा देखिनेछन् ।

