Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पैसा कमाउन `छ एकान छ` बनाएको हैन : दिपकराज गिरी

फिल्मीखबर, काठमाण्डौ, 2013/11/25

निर्माता एवं कलाकार दिपकराज गिरीले 'छ एकान छ' पैसा कमाउन निर्माण नगरिएको बताएका छन् । फिल्मका कथाकार समेत रहेका दिपकले फिल्मको पहिलो औपचारिक कार्यक्रममा बोले- 'ठुलो पर्दामा पनि पाइला चालौं भनेर 'छ एकान छ' निर्माण गरेका हौं । धेरै पैसा आर्जन गरौं भनेर फिल्म बनाएका हैन ।'

 

पौष २६ गते नेपाल सहित विश्वका विभिन्न मुलुकमा रिलिज गर्ने तयारी भैरहेको 'छ एकान छ' सिङ्गल र मल्टीप्लेक्स हलका दर्शकलाई लक्षित गरिएको दिपकले जानकारी गराए । अनामनगरस्थित युनियन हाउसमा 'छ एकान छ' निर्माण युनिटले आयोजना गरेको औपचारिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश डिसीले भने- 'छ एकान छ पूर्ण रुपमा मनोरञ्जनात्मक फिल्म हो । यो फिल्मले दर्शकलाई सवा दुई घण्टा बाँधेर राख्नेछ ।'

 

सह-निर्देशक तथा निर्माता दिपाश्री निर्रौलाले फिल्मबारे भनिन्- 'कला क्षेत्रमा अहिलेसम्म आर्जन गरेको नाम, दाम र प्रतिष्ठालाई छ एकान छमा लगानी गरेका छौं । हाम्रो लगानीलाई दर्शकले स्विकार्नु हुन्छ भन्ने विश्वास लिएको छु ।' करिब डेढ घण्टा जसो चलेको कार्यक्रममा प्रस्तुतकर्ता निर्मल शर्माले फिल्म राम्रो बनेकाले सफल हुनेमा आफु विश्वस्त रहेको बताए । 'आधा दर्जन फ्लप फिल्मको निर्माण अनुभवलाई यो फिल्ममा प्रयोग गरेको छु । सुपर हिट नहोला तर निराश पक्कै हुँदैनौं,' निर्मलले भने ।

 

कलाकार शिवहरी पौडेलले ४७ वर्षमा फिल्मको नायक हुन पाउँदा अत्यन्त हर्ष लागेको बताए भने अर्का कलाकार सन्दिप क्षेत्रीले फिल्ममा आफु साँच्चै नायक देखिएको भन्दै ठट्यौली गरे । ६ जना हिरोको एक्ली हिरोइन निता ढुङ्गानाले 'छ एकान छ' फिल्म अभिनय गरेका मध्ये उत्कृष्ट फिल्म रहेको दाबी गरिन् । कलाकार जितु नेपाल युके र केदार घिमिरे कार्यक्रम लिएर युरोप भ्रमणमा भएकाले फिल्मको पहिलो औपचारिक कार्यक्रममा उपस्थित हुन पाएनन् ।

 

त्यस्तै विकास आचार्यको फिल्म 'नाइ नभन्नु ल २' को सुटिङमा व्यस्त अर्का कलाकार सितारामा कट्टेल धुर्मुस पनि कार्यक्रमम सहभागी हुन पाएनन् । फिल्मको प्रोमोश्नल गीत समेत सार्वजनिक गरिएको कार्यक्रममा राज सिग्देलले फिल्ममा समावेश रोमान्टिक गीत गाए । तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका कलाकार एकसाथ देखिंदै गरेको फिल्ममा जगदिश थापाको पटकथा एवं सम्भूजित बाँसकोटाको संगीत छ ।

 

फिल्मको प्रोमोश्नल गीतमा हरिवंश आचार्य, किरण केसी, निर्देशक दिनेश डिसीले स्वर दिएका छन् । पुरुषोत्तम प्रधान फिल्मका क्यामेरा पर्सन हुन् । कविराज गहतराज र गम्भिर विष्टको नृत्य निर्देशन रहेको फिल्ममा एन.बि महर्जनको द्धन्द्ध निर्देशन छ । पौष २६ गते हलमा 'छ एकान छ' हेर्न दर्शकको भिड लाग्ने अपेक्षा गरिएको छ ।