नोभेम्वर २५ लाई विश्वमा महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाइन्छ । यस दिन महिला माथि हुने हिंसा तथा विभेदका विरुद्धमा विश्वमा विभिन्न र्याली, सभा, गोष्ठी तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने गरिन्छ । नेपालमा पनि महिला हक अधिकारका विषयमा आवाज उठाउँदै आएका विभिन्न संघ संगठनले २३ औं महिला महिला हिंसा विरुद्धको दिवस विभिन्न कार्यक्रम गरेर मनाइ रहेका छन् ।
यो वर्षको विश्व महिला हिंसा विरुद्धको दिवसमा फिल्मसँग आवद्ध विशेषगरी महिला चलचित्रकर्मी संघ संगठनले भने कुनै कार्यक्रम आयोजना योजना नरहेको बुझिएको छ । समाजको मनोरञ्जन पाटोसँग प्रत्यक्ष रुपमा जोडीएको फिल्म क्षेत्रमा पनि महिला हिंसा तथा विभेदका छिटपुट घटना घट्ने नगरेका हैनन् । तर, फिल्म क्षेत्रमा जतिपनि महिला हिंसा तथा विभेदका घटनाहरु बाहिर आउँछन् केही समयमै सेलाएर जाने गरेका छन् ।
पछिल्ला केही वर्ष नेपाली फिल्म क्षेत्रमा पहिचानलाई लिएर त्यती विभेद भएको नदेखिएपनि महिला र पुरुष कलाकारले पाउने पारिश्रमिक रकमलाई लिएर भने समय समयमा बहस हुने गर्दछ । यद्पी यस विषयले औपचारिकता भने पाएको छैन । रजतपटमा पुरुष कलाकार सरह नै पर्दामा रोल तथा पारिश्रमिक पाउने महिला कलाकार नभएका हैनन् । तर, यो लिस्टमा एकाध महिला कलाकार मात्रै पर्न आउँछन् ।
फिल्म 'सानो संसार'बाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री नम्रता श्रेष्ठ यस्तै एक प्रतिनिधि पात्र हुन् जसले पारिश्रमिक मात्रै हैन पर्दामा आफ्नो भूमिका पनि पुरुष कलाकार बराबर पाउने गरेकी छिन् । युवापुस्ताकी लोकप्रिय अभिनेत्री श्रेष्ठले आफु अभिनित पछिल्ला केही फिल्मबाट ओभरसिज राइट समेत लिने गरेकी छिन् । हाल अभिनेता आर्यन सिग्देलले निर्माण गर्दै गरेको फिल्म 'नोभेम्वर रेन'को सुटिङमा व्यस्त नम्रतासँग फिल्मीखबरले २३ औं विश्व महिला हिंसा विरुद्धको दिवसलाई लक्षित गर्दै यस विषयमा विचार बुझ्ने प्रयास गरेको छ ।
फिल्म क्षेत्रमा पुरुष र महिला कलाकार बिच विशेषगरि पारिश्रमिकको सवालमा विभेद हुन्छ भनिन्छ, के यो सत्य हो ? भन्ने जिज्ञासामा नम्रताले आफुलाई निर्माता निर्देशकले त्यस्तो विभेद नगरेको दाबी गरिन् । नम्रताले भनिन्- 'अरु कलाकारले कति पारिश्रमिक लिन्छन् मेरो चासोको विषय हैन । तर, म आफुलाई चित्त बुझ्ने पारिश्रमिक भएपछि मात्रै फिल्म खेल्न तयार हन्छु । मलाई लाग्दैन कि महिला र पुरुष कलाकार बिच पारिश्रमिकमा विभेद भैरहको छ ।'
आफुले केही फिल्मको ओभरसिज राइट लिएको जानकारी दिंदै नम्रताले थपिन्- 'तपाई आफु सक्षम हुनुहुन्छ भने कसैले पनि विभेद गर्न सक्दैन । म आफु इमान्दार र सक्षम छु त्यसैले अहिलेसम्म कुनै ठाउँमा विभेद भए जस्तो लाग्दैन ।' नारी प्रधान फिल्म मेघाकी मुख्य पात्र नम्रताले फिल्म क्षेत्रमा महिला कलाकार माथि हुने विभेदको भने आफुले केही बोल्न नसक्ने बताइन् । नम्रताको तर्क छ- 'फिल्म क्षेत्रमा महिला माथि हुने विभेदका समष्टीगत घटनाबारे म केही भन्न सक्दिन । तर, महत्वपूर्ण कुरा के हो भने महिला या पुरुष दुवै आफ्नो ठाउँमा सक्षम हुनुपर्छ । कसैले कुनै पनि क्षेत्रमा विभेद गर्न सक्दैन ।'
फिल्मको सुटिङले गर्दा सन् २०१३ को महिला हिंसा विरुद्धका कार्यक्रममा आफु सहभागी हुन नपाएको नम्रताले सुनाइन् । मौन अभिनेत्री भन्छिन्- 'महिला हिंसा विरुद्ध आवाज नोभेम्वर २५ मात्रै उठाउनु पर्छ भन्ने हैन । हामीले हरेक दिन विभेदका विषयमा आवज उठाउन सक्छौं ।'

