निर्वाचनको मत परिणामले देखाएको राजनीतिक दलको स्तर बारे देशमा बहस चल्दैछ । फिल्म चलेका छैनन् । हलमा चलेका फिल्म पनि हेर्ने दर्शक छैनन् ।
फिल्म चल्न छाडेपछि र काममा सुस्तता भएपछि अभिनेता राजेश हमाल फिल्म खेल्न छाडेर नाटकतिर सोझिएका छन् । केहि कलाकार फिल्ममा व्यस्त छन् तर अधिकांश फुर्सदिला भएका छन् । पहिले जस्तो फिल्मको सुटिङमा पनि सुस्तता देखिएको छ ।
संविधान सभा निर्वाचनको करिब दुई साता अगावै नेकपा माओवादी नेतृत्व दलको यातायात बन्द आव्ह्वनबाट बन्दको अवस्थामा रहेका फिल्म हल हालसम्म पनि हाउसफुल हुने गरी सञ्चालनमा आउन सकेका छैनन् । भोट खासल्न गाउँ पुगेका नियमित दर्शक शहर नर्फकदा हलमा फिल्म चलाइएका मात्रै छन् । व्यापार छैन । उसो त हलमा व्यापार गर्ने खालका फिल्म पनि लगाइएका छैनन् ।
करिब एक साता बन्दकै अवस्थामा रहेका अधिकांश हलमा नामै नसुनिएका फिल्म प्रदर्शनरत छन् । न्यून बजेटमा निर्माण गरिएको फिल्म 'गुरु'लाई गत शुक्रबार चलाइएको थियो । स्टार कास्ट विनाको फिल्मले कति व्यापार गर्यो ? हलमा दर्शक नै नभएपछि फिल्मको व्यापार कहाँबाट होस् । निर्वाचन पूर्व र पछिको दुइ साता फिल्मको व्यापार न्यून रहेपनि यो शुक्रबारबाट प्रदर्शनमा आउने 'उर्वशी' फिल्मले भने नियमित दर्शकलाई हलसम्म तान्ने धेरैको विश्वास छ ।
'उर्वशी' रिलिज भएको अर्को शुक्रबार छवि ओझाको 'लोफर' प्रदर्शनमा आउँदैछ । मंसिर महिनाको अन्तिम शुक्रबार भने सौगात मल्ल सुपरहिरो भएको 'सौर्य' फिल्म प्रदर्शन हुँदैछ । 'उर्वशी', 'लोफर' र 'सौर्य'ले हलमा कत्तिको दर्शक तान्छन् ? प्रतिक्षा गरौं ।

