विल्सन विक्रम राई अभिनयमा मात्रै पोख्त छैनन् । तक्मेबुढाको नामले समेत चिनिने विल्सन मिठो स्वरका समेत धनी हुन् । रजतपटमा हिट हुनु पूर्व विल्सनले केही प्यारोडी गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

सायद फिल्मबाट दर्शकको प्यारो बनेका विल्सनले पछिल्लो पटक भने पूर्वेली लोक भाकामा आफ्नो स्वर दिएका छन् । केही महिना अघि मात्रै स्वर रेकर्ड गराएर युवट्युवमा अपलोड गरिएको विल्सनको स्वरबद्ध 'नाईन्टिन फौन्टिन...' बोलको पूर्वेली लोक भाकालाई झन्डै ५० हजार हेरेका छन् । विल्सनकै शब्द रहेको उक्त गीतमा उमङ्ग लामाको संगीत छ । गीतलाई मन पराएर प्रतिक्रिया दिनेको संख्या बढ्दो छ ।
हाल युरोप यात्रामा रहेका विल्सन गीत हिट भएपछि खुसी छन् । नेपाल ल्यान्ड भएपछि सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गर्ने 'अधकट्टी' फिल्ममा व्यस्त हुने विल्सनले फिल्मीखबरलाई जानकारी गराए । लगत्तै 'तक्मेबुढो लस्ट इन लण्डन' फिल्मको छायाँकनमा जुट्ने समेत विल्सनले बताए । विल्सनको कथामाथी बन्न लागेको उक्त फिल्मलाई निरक पौडेलले निर्देशन गर्नेछन् । फिल्मको ९० प्रतिशत सुटिङ युरोपियन मुलुकमा गरिने विल्सन बताउँछन् ।

