दोस्रो संविधानसभाको निर्वाचनलाई कारण देखाउँदै छायाँकनको मिति स्थगन गरिएका फिल्म प्रत्यक्ष तर्फको मत गणना सकिंदासम्म पनि फ्लोर पस्न सकेका छैनन् ।
भव्य समारोहका बिच मूहर्त गरिएको सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेव्यु निर्देशन रहने फिल्म 'एउटा साथी'को सुटिङ प्रारम्भ हुन अझै दुई साता लाग्ने निर्माता शोभित बस्नेतले बताए । पुत्र सलोन बस्नेत, करिष्मा श्रेष्ठ र रिस्ता वस्नेतलाई मुख्य कलाकार चयन गरेका शोभितले २ सातामा जसरी भएपनि फिल्मको छायाँकन सुरु भैसक्ने जानकारी दिए ।
अर्का सञ्चारकर्मी सुव्रत आचार्यको डेव्यु निर्देशन रहने फिल्म 'अधकट्टी'को पनि सुटिङ सुरु हुन सकेको छैन । निर्देशक आचार्य भन्छन्- 'एक साता भित्र फिल्मको सुटिङ सुरु हुन्छ ।' निर्देशक आचार्यले बन्द र हड्ताल नहुने समय कुरेर सुटिङ सुरु गर्न लागेको बताए । प्रदीप कुमार उदयले निर्माण गर्ने फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, प्रदीप वाँस्तोला, रिस्ता बस्नेत फाइनल कलाकार हुन् । फिल्ममा नम्रता श्रेष्ठले एउटा नृत्य प्रस्तुत गर्नेछिन् ।
त्यस्तै छविराज प्रोडक्सनको प्रस्तुती 'लज्जा' फिल्मको पनि सुटिङ सुरु हुन सकेको छैन । अभिनेता आर्यन सिग्देल आफ्नै फिल्म 'नोभेम्वर रेन'को सुटिङमा व्यस्त भएपछि नवल नेपालले निर्देशन रहने 'लज्जा'को छायाँकन रोकिएको हो । निर्माता छवि ओझाले यही साताबाट फिल्मको छायाँकन सुरु हुने जानकारी दिए । मंसिर २१ गते 'लोफर' प्रदर्शन गर्ने तयरीमा रहेका निर्माता ओझाले 'लज्जा' मार्फत शिल्पा पोखरेललाई हिरोइनको रुपमा रजतपटमा प्रवेश गराउँदैछन् ।
घोषण भएका मात्रै होइनन्, चल्दै गरेको सुटिङलाई दशैं, तिहार र निर्वाचनलाई कारण देखाउँदै स्थगन गरिएको 'उत्सव' फिल्मको सुटिङ पनि प्रारम्भ हुन सकेको छैन । राइटर कुमार भट्टराइको डेव्यु निर्देशन रहेको फिल्मको सुटिङ कहिलेबाट सुरु हुन्छ ? निर्माण युनिट अन्योलमा छ । यस फिल्ममा सौगात मल्ल, गौरव पहारी लगायतको मुख्य अभिनय छ ।
संविधानसभाको चुनावमा पनि विकास आचार्यले 'नाइ नभन्नु ल २' छायाँकन गरे भने श्रीकृष्ण श्रेष्ठले 'कोहिनुर'लाई खिच्दै छन् । यी फिल्मसँगै झन्डै एक दर्जन जति फिल्म फ्लोरमा र फ्लोर जाने तयारीमा छन् ।

