Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

कुन फिल्मबाट भयो रजतपटमा कलाकारको उदय ? (सूची सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/11/24

नेपाली रजतपटमा कुन कलाकारको उयद कुन फिल्मबाट भयो ? फिल्मीखबरले फ्ल्यास ब्याकलाई सम्झिदै यस प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छ ।

 

'जीवनरेखा' फिल्मबाट अभिनेता शिव श्रेष्ठको नेपाली रजतपटमा इन्ट्री भयो । प्रकाश थापा निर्देशित 'जीवनरेखा'मा शिवको अपोजिटमा मिनाक्षी आनन्द थिइन् । सदाबहार नायक भनेर चिनिने अभिनेता भुवन केसीको पहिलो फिल्म 'जुनी'मा पनि मिनाक्षी आनन्द नै फिल्मकी मुख्य हिरोइन थिइन् । भुवनको डेव्यु फिल्मलाई शरद पालेकरले निर्देशन गरेका हुन् ।

 

अभिनेत्री तृप्ती नारकडको पहिलो फिल्म 'सम्झना' हो । शम्भु प्रधान निर्देशित 'सम्झना'मा अभिनेता भुवन केसी तृप्तीको अपोजिटमा थिए । नेपाली रजतपटमा भुवन र तृप्तीको जोडी सफल मानिन्छ । अभिनेत्रीद्धय सर्मिला मल्ल र मौसमी मल्लको एउटै फिल्मबाट नेपाली रजतपटमा उजय भयो । यी दुइ मल्ल अभिनेत्रीले बिएस थापा निर्देशित 'कान्छी' फिल्ममा पहिलो पटक अभिनेत्री भएर काम गरेका थिए । फिल्मका हिरो शिव श्रेष्ठ थिए ।

 

'के घर के डेरा'बाट अभिनेत्री कृष्टी मैनालीको प्रवेश भयो । प्रदीप रिमाल निर्देशित फिल्ममा कृष्टीको अपोजिटमा स्व. गोपालराज मैनाली थिए । सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले 'सन्तान' फिल्मबाट नेपाली रजतपटमा पाइला टेकिन् । यसै फिल्मबाट अभिनेत्री गौरी मल्लको पनि उदय भयो । प्रकाश थापा निर्देशित फिल्ममा भुवन केसी र अर्जुनजंग शाही हिरो थिए ।

 

महानायकको उपमा पाएका राजेश हमालको उदय फिल्म 'युगदेखि युगसम्म'बाट भयो । स्व. दिपक रायमाझी निर्देशित 'युगदेखि युगसम्म'मा कृष्टी मैनाली राजेशको अपोजिटमा थिइन् । स्व. दिपक रायमाझीकै 'प्रियसी' फिल्मबाट अभिनेत्री मेलिना मानन्धरले रजतपटमा पाइला टेकिन् । निर्देशक तुलसी घिमिरेको 'देउता' फिल्मबाट अभिनेत्री सृजना बस्नेतलाई प्रवेश गराए । सृजनाको अपोजिटमा राजेश हमाल थिए ।

 

निर्देशक घिमिरेले नै रजतपटमा 'दक्षिणा' फिल्मबाट अभिनेत्री निरुता सिंहको दमदार उदय गराए । निरुता सिंह एक समय नेपाली फिल्ममा नायक भन्दा पनि बढी बिकाउ अभिनेत्री थिइन् । घिमिरे निर्देशित 'दुई किनारा' फिल्मबाट अभिनेताद्धय सुमन सिंह र भूपेन चन्द नेपाली रजतपटमा प्रवेश भए ।

 

अभिनेता श्रीकृष्ण श्रेष्ठ 'भुमरी' फिल्मबाट उदाएका हुन् । 'कोहिनुर' फिल्म निर्माण गर्दै गरेका श्रीकृष्णले 'कहाँ भेटिएला'बाट श्वेता भट्टराइलाई रजतपटमा प्रवेश गराए । मोहन निरौला निर्देशित 'जन्मभूमी' फिल्मबाट अभिनेत्री विपना थापाले फिल्ममा पाइला टेकिन् ।

 

यादव खरेल निर्देशित 'प्रेम पिण्ड'बाट सनी रौनियारको उदय भयो । विवाह पश्चात अमेरिका रहंदै आएकी अभिनेत्री जल शाह फिल्म 'अवतार'बाट आएकी हुन् । प्रकाश सायमीले जल शाहलाई 'अवतार'मा मुख्य हिरोइन बनाएका थिए । चक्लेटी हिरो दिलिप रायमाझी 'भानुभक्त' फिल्मबाट रजतपटमा उदाए । 'भानुभक्त'लाई यादव खरेलले निर्देशन गरेका हुन् । अभिनेत्री झरना थापा रजतपटमा 'दाइजो' फिल्मबाट प्रवेश गरेकी हुन् । यस फिल्ममा भुवन केसी हिरो थिए ।

 

अभिनेत्री अरूणिमा लम्साल 'यस्तै रैछ जिन्दगी' फिल्मबाट रजतपटमा आएकी हुन् । अरूणिमाले पहिलो फिल्ममै राजेशको जोडी भएर अभिनय गर्ने अवसर पाएकी थिइन् । अभिनेता निखिल उप्रेतीसँग दोस्रो विवाह गरेकी अभिनेत्री संचिता लुइँटेलको उदय नेपाली रजतपटमा 'अप्सरा' फिल्मबाट भएको हो । निखिल उप्रेती 'पिंजडा' फिल्मबाट एक्सन हिरोको रुपमा उदाए । अर्का एक्सन हिरो विराज भट्टको पहिलो फिल्म 'अग्निपथ' हो । 'अग्निपथ'का निर्देशक शोभित बस्नेत हुन् । विराज हाल भोजपुरी फिल्ममा व्यस्त छन् ।

 

चौवन्दी चोली र फरियालाई चुनौती दिदैं रजतपटमा रेखा थापाको 'हिरो' फिल्मबाट उदय भयो । नरेश पौडेलको निर्देशन र छवि ओझाको लगानी रहेको फिल्ममा रेखाको अपोजिटमा अभिनेता राजेश हमाल थिए । लुटका हाकु काले सौगात मल्लको रजतपटमा उदय भुषण दाहाल निर्देशित फिल्म 'कागवेनी'बाट भयो । लुट सुपरहिट भएपछि सौगातको व्यस्तता बढ्दो छ । अभिनेता आर्यन सिग्देल रेखा फिल्मस्को 'किस्मत' फिल्मबाट रजतपटमा प्रवेश गरेका हुन् । सुवास गिरीसँगको सहकार्यमा 'नोभेम्वर रेन' निर्माण गर्दै गरेका आर्यन र रेखाको जोडी एक समय हिट मानिन्थ्यो ।

 

'नोभेम्वर रेन'मा आर्यनको जोडी भएर अभिनय गर्दै गरेकी अभिनेत्री नम्रता श्रेष्ठको 'सानो संसार' फिल्मबाट रजतपटमा प्रवेश भयो । 'सानो संसार'बाट नम्रतासँगै कर्मको उदय भयो । सानो संसारलाई आलोक नेम्वाङले निर्देशन गरेका हुन् । 'सानो संसार'मा दर्शकले हेर्न पाएका अहिलेका पपुलर हिरो जीवन लुईटेलको सोलो फिल्म भने 'नसिब आफ्नो' हो । फिल्मलाई विकास आचार्यले निर्देशनगरेका हुन् । निर्देशक आचार्यले 'नाइ नभन्नु ल'बाट ऋचा सिंह ठकुरीलाई पनि इन्ट्रोड्यूस गराए । अहिले विकासले 'नाइ नभन्नु ल २'बाट बर्षा सिवाकोटीलाई भित्र्याउँदै छन् ।

 

वौद्धिक अभिनेता भनेर चिनिने राजवल्लभ कोइराला फिल्म 'पर्खि बसें'बाट नेपाली रजतपटमा प्रवेश गरे । दिपक श्रेष्ठ निर्देशित फिल्मबाट राजवल्भसँगै अभिनेत्री युना उप्रेतीको पनि प्रवेश भयो । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी अभिनेत्री निशा अधिकारी 'मिसन पैसा 'फिल्मबाट उदाइन् । निशाको अपोजिटम एक्सन हिरो निखिल उप्रेती थिए ।

 

म्यूजिक भिडियोमा निकै देखिने केकी अधिकारी 'स्वर' फिल्मबाट रजतपटमा प्रवेश गरिन् । केकीसँगै रिमा विश्वकर्मा, वेनिशा हमाल, यशराज गराचले 'स्वर' फिल्मबाट फिल्म क्षेत्रमा सहभागीता जनाए । वर्तमान रजतपटकी व्यस्त अभिनेत्री प्रियंका कार्कीको डेव्यु फिल्म 'माइ वेस्ट फ्रेन्ड' भएपनि प्रदर्शनका हिसाबले प्रियंकाको पहिलो फिल्म 'थ्रि लभर्स' हो । विकास आचार्यको 'नाइ नभन्नु ल २' मा व्यस्त प्रियंका वर्तमान फिल्म क्षेत्रकी व्यस्त अभिनेत्री हुन् ।

 

रेखा फिल्म्सको 'हिफाजत'बाट आयुष रिजालको एक्सन हिरोको रूपमा इन्ट्री भयो । अभिनेत्री बिनिता बरालको पहिलो फिल्म 'चपली हाईट' हो । यो फिल्म ब्लक बस्टर भएको थियो । पछिल्लो समयका हिरो गजित बिष्टलाई दिनेश डिसीले 'मायाज बार'बाट इन्ट्री गराए । गजित छोटो समयमा नै धेरै फिल्ममा व्यस्त बने । अभिनेत्री सुमिना घिमिरेले पहिलो पटक स्क्रिन फेस गरेको फिल्म 'छबिलाल कन्जुस छैन' भएपनि रिलिजको हिसाबले पहिलो डेब्यू फिल्म 'दुलही' बन्यो ।

 

'चाहन्छु म तिमीलाई'बाट रेश मरहठ्ठाको इन्ट्री भयो भने 'माया नमार'बार रमित ढुंगानालाई दर्शकले हेर्न पाए । अहिलेका व्यस्त अभिनेता अर्पण थापाको 'सिक सिटी'बाट डेब्यू भयो तर उनी 'ब्याच नम्बर १६'बाट नै चर्चित बने । 'बाटो मुनिको फूल'बाट गायकद्धय यश कुमार र बाबु बोगटी झुल्किए । 'मेरो एउटा साथी' फिल्ममा छोटो भुमिकामा देखिएकी अभिनेत्री शुष्मा कार्कीलाई सुदर्शन थापाले 'के यो माया हो'बाट सोलो नायिकाको रूपमा डेब्यू गराए ।

 

थुप्रै फिल्ममा छोटो भुमिका निर्वाह गरेपनि विल्सन विक्रम राई डेब्यू फिल्म 'सायद'लाई मान्छन् । यहि फिल्मबाट संयम पुरी पनि देखिए । अर्का एक्सन हिरो सबिन श्रेष्ठलाई उज्वल घिमिरेले 'अन्दाज'बाट डेब्यू गराए । अभिनेत्री ऋचा शर्माको डेब्यू 'फस्ट लभ'बाट भयो । 'स्टुपिड मन' निर्माण गरेका अभिनेता निरज बरालको पहिलो फिल्म 'कुसुमे रूमाल २' हो । थिएटरमा जमेका अभिनेता सुवास थापालाई आलोक नेम्वाङले 'कोही मेरो'बाट डेब्यू गराएका हुन् ।

 

मिस नेपाल झरना बज्रचार्य 'हतियार' फिल्मबाट आइन् । तर, उनी रजतपटमा खासै चल्न सकिनन् । झरनाको 'सेफ ल्यान्डिङ' फिल्म प्रदर्शनको क्रममा छ । 'निखिल दाइ' फिल्मबाट अभिनेत्री गरिमा पन्त आइन् भने 'इन्द्रेणी' फिल्मबाट नन्दिता केसीको प्रवेश भयो । गाला रातै अभिनेत्री निता ढुङ्गानाको पहिलो फिल्म 'किसान' हो । अभिनेता दयाह्याङ राइले 'दासढुङ्गा' फिल्ममा पहिलो पटक अभिनय गरेका थिए । दयाह्याङको 'लोफर' फिल्म मंसिर २१ मा प्रदर्शन हुँदैछ ।