Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्वाचन मत गणना जारी : कलाकारले चुनाव लड्ने हैन फिल्म खेल्नुपर्छ

फिल्मीखबर, काठमाण्डौ, 2013/11/21

दोस्रो संविधान सभा निर्वाचको मत गणना कार्य जारी छ । निर्वाचन पछिको राजनीतिक अवस्था के होला ? विभिन्न विचार तथा विश्लेषण हुने क्रम जारी छन् । दोस्रो संविधान सभामा नेपाली फिल्मकर्मीको पनि प्रत्यक्ष रुपमा जोडिएका छन् ।

 

निर्वाचन पूर्व दर्जनौं कलाकार राजनीतिक दलको प्रचार अभियानमा सक्रिय भएर लागे । प्रत्यक्ष टिकट खोसिएका भुवन केसीले एमालेलाई सघाए । माधव कुमार नेपाल र केपी ओलीको निर्वाचन क्षेत्रमा पुगेर भुवनले सूर्यलाई भोट हाल्न आग्रह गरे ।

 

अभिनेत्री रेखा थापाले एमाओवादीको मेची महाकाली चुनावी अभियानमा सहभागी हुंदै चुनाव प्रचारको अन्तिम दिन अध्यक्ष प्रचण्डलाई अत्याधिक बहुमतले जिताउन काठमाडौं क्षेत्र नं १० वासीलाई आग्रह गरिन् । विडम्वना अध्यक्ष प्रचण्ड सोही क्षेत्रमा मत गणनाको तेस्रो स्थानमा रहंदै नेपाली काङ्ग्रेसका उम्मेरदवार विजयी भए । अभिनेत्री थापाले टिकट पाएर फिर्ता गर्नु परेको पर्सा क्षेत्रमा पनि एमाओवादीले राम्रो मत पाउन सकेन ।

 

 

रेखा सहित आयुष रिजाल, मुकेश ढकाल, उमा बेवी, लगायतका कलाकारले हँसिया हतौडामा भोट हालौं भन्दै भोजपुरी गीतमा कम्मर मर्काएका थिए । कमल थापाको राप्रपा पार्टीबाट निर्माता उद्धव पौडेल काठमाडौं क्षेत्र नम्वर ४ बाट प्रत्यक्ष उम्मेरदवार भए । मत गणना हुंदै गर्दा निर्माता पौडेल तेस्रो स्थानमा पनि आउन सकेका छैनन् । दोस्रो संविधान सभामा निर्माता पौडेलको जित असम्भव जस्तै छ । निर्माता पौडेलको चुनावी अभियानमा दर्जन भन्दा कलाकारले साथ दिएका थिए ।

 

त्यस्तै अर्का निर्माता रमेशजंग रायमाझीलाई पनि नेपाली काङ्ग्रेसले मोरङ क्षेत्र नम्वर ८ बाट प्रत्यक्ष निर्वाचनमा उठाएको छ । जारी मतगणनामा निर्माता रायमाझीको हार या जित सुनिश्चित भैसकेको छैन । अष्ट नारायणका हल सञ्चालक रामवीर मानान्धरले भने जारी मत गणनामा काठमडौं क्षेत्र नम्वर ७ मा लिड गरिरहेका छन् । उनको जितमा अहिल्यै उल्लास मनाउन हतार हुन सक्छ ।

 

फिल्म क्षेत्रबाट समानुपातिक कोटमा अभिनेता भुवन केसी एमाले र निर्देशकद्धय दिपक श्रेष्ठ र हिमग्याम टासी एमाओवादीबाट तानिएका छन् । यी फिल्मकर्मी संसदमा जाने नजाने पार्टीले ल्याउने मत परिमाणमा निर्भर हुनेछ ।

 

दोस्रो संविधान संभाको जारी मत गणनाको परिणामलाई हेर्दा आम नागरिकले फिल्मकर्मीलाई पार्टीको कार्यकर्ता भएको हेर्न चाहेको देखिए जस्तो लाग्दैन । जनताले कलाकारलाई एउटा पार्टीको नेता तथा कार्यकर्ताको पदमा भन्दा पनि कलाकारकै रुपमा हेर्न चाहान्छ भन्ने पाठ लिने कि !