दर्शकको माग अनुसारका फिल्म निर्देशन गर्न नसक्दा यतिखेर रजतपटका दर्जन जति निर्देशक रेष्ट मुडमा छन् । हलमा एक सय दिनसम्म फिल्म चलाएर उत्सव मनाएका तुलसी घिमिरेदेखि विरामी अवस्थामा रहेका शिव रेग्मीसम्मका फिल्मले सफलता पाइरहेका छैनन् ।
यादव खरेल, अशोक शर्मा, आलोक नेम्वाङ, किशोर राना जस्ता निर्देशक जो लामो समयसम्म पनि फिल्म निर्देशनमा फर्कन सकेका छैनन् । नविन सुब्बा 'गुडबाई काठमाण्डू' र नारायण पुरी 'ए फर एप्पम'मा अल्झिएर बसेका छन् । निर्देशक नरेश पौड्याल दिपशिखाको ह्याङबाट अझै उत्रन सकेका छैनन् । युवा निर्देशक निरक पौडेलले भने 'कुसुमे रुमाल २' मै फिल्म निर्देशनको चित्त बुझाए ।
अर्का निर्देशक प्रकाश सायमी फिल्म निर्देशन भन्दा साहित्यतिरै व्यस्त छन् । राम्रा निर्देशक मानिने प्रताप सुब्बाको फिल्मलाई दर्शकले हेर्न नपाएको लामै समय भैसक्यो । पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ फिल्म निर्देशनको घोषणमै सिमित छिन् । रजतपटलाई हिट फिल्म दिएका उज्जल घिमिरेले 'अन्दाज' पछि अर्को फिल्म निर्देशन गर्ने अन्दाज लगाउन सकेका छैनन् ।
निर्देशक युवराज लामा फिल्म निर्देशन भन्दा खेलकुदसँग बढी नजिक छन् । निर्देशक लामा राखेपका सदस्य सचिव हुन् । कुसुमे रूमाल, चिनो, लाहुरे, देउता, दर्पण छाँया जस्ता हिट फिल्मका निर्देशक तुलसी घिमिरेका पछिल्ला फिल्मले भने दर्शक तान्न सकेनन् । तुलसी निर्देशित दुई किनारा, देश, मृगतृष्णा र दृष्टिकोण जस्ता फिल्म फल्प भए ।
हिट निर्देशकका फिल्म फल्प किन भए ? विश्लेषण यस्तो हुन सक्छ । फिल्म प्रदर्शन गर्ने प्रणालीमा आएको भिन्नता र फिल्ममा देखाइने उही पुरानै रोनाधोना र द्धन्द्धको दृश्यले तुलसीको फिल्म सफल हुन सेकनन् । फिल्म निर्माण गर्ने नयाँ ट्रेन्डका कडा आलोचना निर्देशक घिमिरेलाई पुरानै ढर्राका निर्देशक भन्ने आरोप समेत लाग्ने गरेको छ ।
तुलसी घिमिरे सरह नै हिट फिल्म दिएका निर्देशक शम्भु प्रधान पनि हाल निर्देशनमा सक्रिय छैनन् । फिल्म सम्बन्धी पढेका निर्देशक प्रधानका सम्झना
, सरस्वती, स्वर्ग जस्ता फिल्म हिट मानिएका थिए । तर, यी हिट निर्देशक लामो समयको अन्तरपछि 'रंग बैगनी' फिल्म निर्देशन गर्न कस्सिएका छन् । उनले कस्तो फिल्म निर्देशन गर्लान् ? प्रतिक्षा गर्रौ ।
आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुख दुःख, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला जस्ता सुपरहिट फिल्म निर्देशन गरेका निर्देशक शिव रेग्मीका पछिल्ला हाँसीदेऊ एक फेर, सो सिम्पल जस्ता फिल्म भने सुपर फल्प बन्न पुगे । हाल दुवै मृगौलाले काम गर्न छोडेपछि अस्पतालमा उपचार गराइरहेका रेग्मीलाई पनि समय अनुसारको फिल्म निर्देशन गर्न नजानेको अरोप लाग्ने गर्दछ ।
त्यस्तै पहिलो पुस्ताका निर्देशक लक्ष्मीनाथ शर्माले केहि बर्ष अगाडी सुनको विहानी निर्देशन गरे । तर उक्त फिल्म प्रदर्शन नहुने अवस्थामा पुगेको छ । उनी अब व्याक हुन सक्ने अवस्थामा नरहेको बताउँछन् । पिंजडा फिल्मका निर्देशक देशभक्त खनाल अचानक नामक फिल्म लिएर आए । तर, उनी अचानक नै हराए । चेतन कार्की, उगेन छोपेल, बन्नी प्रधान जस्ता कुशल निर्देशक लामो समयदेखि निस्क्रिय छन् ।
एक समय हिट फिल्म दिएका निर्देशक दयाराम दाहाल पुरानै ढर्रालाई निरतन्तरता दिंदा फल्प निर्देशकमा काउन्ट हुँदैछन् । पछिल्लो समय दाहाल निर्देशित कुनै पनि फिल्म सफल हुन सकेका छैनन् । आर्यन सिग्देल र निता ढुङ्गानालाई लिएर पछिल्लो पटक दाहालले निर्देशन गरेको दबाब फिल्म नराम्रोसँग हावा खायो । दर्शक माझ निर्देशक दाहाल मिसन फर् ट्वान्टी नामक फिल्म लिएर आउने तयारीमा छन् । अर्का पूराना निर्देशक विश्व वस्नेतले 'स्कुल' फिल्म लिएर आउँदै छन् । हेरौं उनको स्कुलले कुन मोड लिन्छ ?
भाउजु, विजय पराजय, परिभाषाका निर्देशक राजेन्द्र सलभ पनि लामो समय भैसक्दा पनि फिल्म निर्देशनमा फर्कन सकेका छैनन् । हिट फिल्म पर्खी बसे, हिम्मत र पहिलो पहिलो मायाका निर्देशक दिपक श्रेष्ठका फिल्मले पनि पछिल्लो पटक बाजी मार्न सकिरहेका छैनन् । दिपकले नयाँ गर्ने वाहानामा फिल्म 'रङ वे'मा अश्लिलतालाई प्रश्रय दिएको भन्ने आरोप छ । अपडेट हुन नसकेर हराएका निर्देशकमा कृष्ण चापागाईं पनि पर्छन् ।
फिल्म बारे चर्को मत राख्न अग्रसर हुने निर्देशकद्धय केपी पाठक र निलहरी काफ्लेले फिल्म भने औंलामा गन्न मिल्ने निर्देशन गरेका छन् । निर्देशक पाठकले गाजल र सत्य घटनामा आधारित मैना फिल्म निर्देशन गरे । काफ्लेले एक मात्रै फिल्म चाहान्छु म तिमिलाई निर्देशन गरे । जुन फिल्मको व्यापार मध्मय रह्यो । सञ्चारमाध्यमा निकै चर्चित रहेका भुषण दाहालले कागवेनी पश्चात फिल्म बनाउने आँट गरेका छैनन् ।
निर्देशक राजेन्द्र उप्रेतीले त अब फिल्म निर्देशन नगर्ने घोषणा नै गरेका छन् । निर्देशक प्रदीप श्रेष्ठ पनि अपडेट हुन नसकेका निर्देशकमा काउन्ट हुन्छन् । अर्का निर्देशक मोहन निरौला पनि फिल्म निर्देशनमा व्याक हुन सकेका छैनन् । उनी अवार्डमा जुरी बनेरै चलिरहेका छन् । निर्देशक रेशराज आचार्यको पनि केहि समयदेखि फिल्म क्षेत्रमा कुनै चर्चा छैन । अनिश कोईराला पनि फिल्म क्षेत्रबाट टाढिएका छन् ।
माथी उल्लेखित निर्देशकले बनाएका फिल्महरूको लिस्ट हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला !

