नामले फिल्म चल्नेमा तपाईं कत्तिको विश्वास गर्नुहुन्छ ? रजतपटमा केही यस्ता फिल्मकर्मी छन्, जो आफ्ना लागि केही शब्द लक्की मान्ने गर्दछन् ।
निर्माता छवि ओझा आफुलाई `ल` शब्द फाप्ने विश्वास व्यक्त गर्दछन् । त्यसैले उनले मंसिर २१ गते प्रदर्शन हुने फिल्मको शिर्षक `ल` बाट सुरु हुने `लोफर` राखे । छविकै निर्माणमा फ्लोर पस्ने तरखरमा रहेको अर्को फिल्मको नामक पनि `ल`बाट नै राखिएको छ, `लज्जा` ।
लोफर रिलिजको चपेटामा रहेका निर्माता ओझाले आफुले वि.सं. २०६० सालदेखि फिल्मको नाम ज्योतिषको आधारमा तय गरिरहेको जानकारी दिए । भन्छन्- 'अजम्बरी नातादेखि लज्जासम्म फिल्मको नाम तय जुराउँदा ज्योतिषलाई देखाउँदै आएको छु । ज्योतिषले जुन शब्द अगाडी राखेर फिल्म बनाउँदा राम्रो हुन्छ भन्नुहुन्छ त्यही नाम राखेर फिल्म बनाउँदै आएको छु ।'
यसअघिका फिल्मबाट घाटा नबेहोरेका छविले लोफर पनि हिट हुने विश्वास व्यक्त गरे । `ल` शब्दका फिल्म सफल हुने प्रतिक्षामा रहेका निर्माता ओझालाई `क` र `ह` शब्दबाट निर्माण भएका फिल्म भने लक्की सावित हुँदै आएका छन् । छविले यसअघि निर्माण गरेका हिम्मत, किस्मत, हिफाजत, कस्ले चोर्यो मेरो मन, हमेशा जस्ता फिल्म व्यापारिक रुपमा सफल मानिएका छन् ।
त्यस्तै अभिनेत्री रेखा थापालाई `क` र `ह` शब्दबाट नामाकरण गरिएका फिल्म लक्की देखिएका छन् । छवि ओझाले निर्माण गरेको र रेखा थापा मुख्य भूमिकामा रहेको हिम्मत, किस्मत, हिफाजत, कस्ले चोर्यो मेरो मन जस्ता फिल्म सफल भए । रेखा थापा एक्लैले निर्माण गरेको काली फिल्म त ब्लकबस्टर नै भयो । कालीको सफलताबाट हौसिएकी रेखाले पुनः `क`बाटै सुरु हुने `कमला` फिल्म निर्माणको घोषणा गरेकी छिन् ।
`कमला`पछि `ह`बाट सुरु हुने `हिम्मतवाली` फिल्मको निर्माण गर्ने रेखा जानकारी दिन्छिन् । `काली`बाट कमला बनेकी रेखाले फिल्मको नाम भने विषयबस्तु अनुसार तय गरिने बताइन् । रेखा भन्छिन्- 'फिल्म सफल भएपछि मात्रै मलाई यो शब्द फाप्ने रैछ भन्ने महसुश हुन्छ । तर, फिल्म चल्न शब्द भन्दा पनि कथा र प्रस्तुती राम्रो बन्नुपर्छ ।'
त्यस्तै अभिनेता श्रीकृष्ण श्रेष्ठ पनि `क` प्रेमी देखिएका छन् । श्रीकृष्णको पहिलो फिल्म `कहाँ भेटिएला` ब्ल्कबस्टर भयो । श्री हाल `कोहिनुर` नामक फिल्मको सुटिङमा व्यस्त छन् । श्री र श्वेताको मुख्य भूमिका रहेको फिल्मलाई निर्देशक आकाश अधिकारीले निर्देशन गर्दैछन् । `कहाँ भेटिएला` जस्तै श्रीकृष्णको `कोहिनुर` ब्ल्कबस्टर होला ? सफलताको शुभकामना ।
यस्तै निर्देशक विकास आचार्य 'न' प्रेमी हुन् । उनले निर्देशन गरेको पहिलो र दोस्रो फिल्म क्रमश : नसिब आफ्नो र नाइ नभन्नु ल हो । त्यसपछि म तिम्रो भईसकें निर्देशन गरेका आचार्यलाई 'म' फापेन । अर्थात्, विकासको 'म तिम्रो भईसकें' व्यवसायिक रूपमा असफल बन्यो । त्यसपश्चात विकासले 'रिदम' बनाए । रिदमले राम्रै सफलता दिएपनि विकासलाई ज्योतिषले 'न'बाट नै नाम राख्दा फाप्ने भनेपछि अहिले उनले 'नाइ नभन्नु ल २' फिल्म निर्देशन गरिरहेका छन् ।

