दोस्रो संविधान सभाको चुनाव भैरहंदा देशका करिब डेढ सय फिल्म हल भने बन्दको अवस्थामा थिए । चुनावी माहोल र चुनावलाई विफल पार्न नेकपा माओवादी सहित ३३ दलले गत कार्तिक २५ देखि मंसिर ५ गतेसम्म गरेको बन्द आव्ह्वानले फिल्म हल खुल्न सकेका थिएनन् ।
दोस्रो संविधान सभाको निर्वाचन मिति मंसिर ४ गते देशका अधिकांश हल बन्द रहे । संविधान सभाको चुनावको भोलीपल्ट देखि भने देशका फिल्म हल सञ्चालनमा आएका छन् । तर, हलमा स्टार कास्ट र बिग ब्यानरका फिल्म प्रदर्शन भएका छैनन् । यो बिचमा करिब आधा दर्जन जति फिल्म प्रदर्शनमा आए । जुन बिना प्रचार र नामै नसुनिएका थिए । यी फिल्मले नाफा भन्दा पनि लगानीको १० प्रतिशत पनि व्यापार गर्न सकेनन् ।
वितरक तथा हल सञ्चालक नरेन्द्र महर्जनका अनुसार अब कुनै दलले बन्दको आव्ह्वान नगरेमा फिल्म हलमा दर्शक फर्कनेछन् । भन्छन्- 'राम्रो फिल्म हेर्न हलमा दर्शक आउनेछन् ।' वितरक तथा हल सञ्चालक महर्जनले मंसिर २१ गते प्रदर्शन हुने छविराज ओझाको 'लोफर'लाई दर्शक तान्ने गतिलो फिल्म रहेको उदाहरण दिए । लोफर प्रदर्शन हुने अघिल्लो हप्ता (मंसिर १४ गते) उर्वशी फिल्म प्रदर्शन हुँदैछ । यो शुक्रबार भने 'गुरु' नामक फिल्म प्रदर्शनमा आउने जानकारी छ ।
प्रतिक्षा गर्रौ, चुनाव पछिको चिसो माहोललाई यी फिल्मले गर्माउनेछन् ।

