झण्डै एक बर्षपछि अमेरिकाबाट नेपाल व्याक भएका अभिनेता सरोज खनाल अहिले 'नाइ नभन्नु ल २'का लागि एक्सन कटमा व्यस्त छन् । सोमबार राजधानीमा सुटिङका लागि व्यस्त रहँदा फुर्सद निकालेर सरोज फिल्मीखबरसँग गफिए ।
फिल्म खेल्नैका लागि १ महिनाको छुट्टी लिएर आएका सरोजले फिल्म खेल्नुको कारण खोल्दै भने- 'फिल्म खेल्नुको मुख्य कारण स्क्रिप्ट मन परेर हो ।' संगीत प्रेमीको भुमिका निर्वाह गरेका सरोजले निर्देशक विकास आचार्यको अघिल्लो फिल्म 'रिदम' हेरेपश्चात आफूलाई निर्देशक आचार्यसँग काम गर्ने इच्छा पूरा भएको बताए । उनले भने- 'रिदम हेरेपश्चात विकासलाई मेरो लागि रोल भए भन्नु होला भनेको थिएँ, नाइ नभन्नु ल २का लागि अफर गर्नुभयो । स्क्रिप्ट पढें निकै मन पर्यो र नेपाल आएँ ।'
विकास र आफू निकै पूरानो साथी समेत रहेको खुलासा गर्दै सरोजले थपे- 'मैले पहिलो पटक अभिनय गरेको टेलिफिल्म 'दोषी को ?'का लेखक विकास थिए । त्यो बेलादेखि नै हाम्रो सम्बन्ध साथीको रूपमा स्थापित भयो ।' उक्त टेलिफिल्ममा सरोजसँगै निर्देशक आचार्यले पनि अभिनय गरेका थिए । 'लामो समयपछि सँगै काम गर्न पाउँदा निकै खुसी लागेको छ,' निर्देशक आचार्यले भने- 'सरोजको अभिनय पहिलेको जस्तै दमदार रहेको पाएँ ।'

अभिनयका धनी सरोजले अर्का अभिनेता जीवन लुईटेलसँग जिस्कँदै भने- 'अहिले फिल्म नचलिरहेको अवस्थामा तपाईं आफ्नो स्टाईल दिनुस् म अभिनय गर्छु । हाम्रो फिल्म हिट हुन्छ ।' सरोजले यसो भनिरहँदा जीवन मुसुक्क हाँसे । यसअघि 'मानव' फिल्ममा अभिनय गरेका सरोजले बल्ल आफूले खोजे जस्तो भूमिका पाएको बताए । 'यो फिल्मले मेरो कमव्याकको अर्थ राख्छ,' सरोजले भने ।
एक बर्ष अघि नै फिल्म निर्माण गर्ने बताएका सरोजले एक बर्षका लागि आफ्नो प्रोजेक्ट पोष्टपोण्ड भएको बताए । उनले भने- 'स्क्रिप्ट तयार नभएकाले अहिले काम गर्न सकेनौं । अर्को बर्षको भाद्र महिनामा सुटिङ गर्छौं ।' 'नाइ नभन्नु ल २'मा सरोजको कमव्याक हेर्न लायक नै होला त ? चैत्र मसान्त सम्म कुर्नुपर्नेछ ।

निर्देशक आचार्यकै लेखन रहेको यो फिल्मलाई नयाँ बर्षको अवसर पारेर चैत्र महिनाको अन्तिम शुक्रबार रिलिज गरिने तयारी गरिएको छ । यो फिल्ममा जीवन र सरोजको साथमा सुरज सिंह ठकुरी, प्रियंका कार्की, अनुभव रेग्मी, कृष्मा (बर्षा) सिवाकोटी, सुज्ञानी भट्टराई, सिताराम कट्टेल 'धुर्मुस' लगायतको अभिनय छ । फिल्मलाई पुरूषोत्तम प्रधानले खिच्दै छन् ।

