नेपाली आधुनिक गीतको म्युजिक भिडियोमा अभिनेता राजेश हमाललाई देख्नु नौलो हैन । आधुनिकमा देखिंदै आएका अभिनेता राजेश हमाल तीज गीतका भिडियो तथा लोकदोहोरी गीतको भिडियोमा पनि देखिन थालेका छन् ।
राजेशलाई लोक लयको भाकामा केहि नृत्य निर्देशकले नचाउने जमर्को गरेका छन् । राजु परियार र विष्णु माझीद्धारा स्वरवद्ध 'कस्तो अचम्म' बोलको लोकदोहोरी गीतको भिडियोमा अभिनेत्री रिमा विश्वकर्मासँग कम्मर मर्काएका हमालले सुनिला दुलालले गाएको तीजको गीतमा पनि कम्मर मर्काएका छन् । यस्तै लोकगायनमा चर्चा पाएकी गायिका निशा सुनारसँग पनि राजेशले ठुक्का लडाएका छन् ।
अनुप बरालको निर्देशनमा स्टेज ड्रामा 'कोर्ट मार्सल'को रिहर्सलमा व्यस्त अभिनेता राजेश हमाल लोकदोहोरीमा किन नाच्छन् ? राजेश स्वयमले यसरी कारण खुलाए, 'लोकदोहोरीको आफ्नै लय हुन्छ । लोक दोहोरी सबै तह र तप्काका नेपालीको साझा रूचिको विषय पनि हो । त्यसैले एउटा लोक लयमा काम गर्न मन लागेको थियो । शिव जीले यो अवसर जुटाइदिनु भयो ।'
'लोकदोहोरीमा आफ्नै विशेषता र मौलिकता छ । यसले नेपालीको सद्भाव र भावना बोकेको लय हुन्छ,' राजेशले थपे- 'लोकदोहोरीमा काम गर्न पाउँदा एकदमै खुसी लागेको छ । लोक दोहोरी गीत मन नपराउने को नेपाली होला र ? गाउँ, शहरदेखिं विदेशसम्म उतिकै लोकप्रिय लोकदोहोरी सबै नेपालीलाई जोड्ने गतिलो माध्यम हो ।'

