Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जनतालाई भोट हाल्न सुझाउँदै सेलिब्रेटी, राजेशले हमालले भने- `सबै पार्टी फेलिएर`

फिल्मीखबर, काठमाण्डौ, 2013/11/15

आगामी मंसिर ४ गते हुन लागेको संविधान सभाको निर्वाचनमा नेपाली जनतालाई आफ्नो हकको सदुपयोग गर्दै भोट हाल्न जान नेपाली सेलिब्रेटीले आग्रह गरेका छन् । राजधानीमा आयोजना गरिएको 'ऐतिहासिक संविधान सभा निर्वाचनमा चलचित्रकर्मीहरूको दायित्व र भूमिका' बिषयक अर्न्तक्रिया कार्यक्रममा उपस्थित फिल्मकर्मी तथा चर्चित अनुहारहरूले आफ्नो अमूल्य भोट खेर नफाल्न आग्रह गरेका हुन् ।

 

निर्वाचन आयोगको सहकार्यमा नेपाल चलचित्र निर्देशक समाजले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले यसअघिको उदाहरणिय बन्न खोजेको संविधान सभाको निर्वाचन उम्किए पनि अब भने उम्कन दिन नहुने बताए । असहज वातावरणका विच हुन लागेको चुनावमा पार्टी नहेरी सक्षम व्यक्तिलाई भोट हाल्न हमालले सम्पूर्ण नेपालीलाई आग्रह गरे ।

 

 

'एक पटक हामी फेल भईसकेका छौं । पहिलो परिक्षा जस्तो हर्षोल्लास नभएपनि दोस्रो परिक्षामा हामी पास हुनै पर्छ,' हमालले चुनावको विकल्प नरहेको बताउँदै भने- 'सबै पार्टी 'फेलिएर' हुन्, त्यसैले पार्टी बिशेष भन्दा पनि सक्षम व्यक्तिलाई भोट हाल्न पर्छ । भोट कुनै दलको लागि हैन, हाम्रै लागि हो ।' राजनीतिक तथा समाजिक जटिलताको माझमा उभिएको देशलाई विकासको तर्फ अगाडी बढाउन यो चुनाव अत्यावश्यक रहेको हमालले बताए । उनले भने- 'हरेक समस्याको निकासा नै चुनाव हो ।'

 

आफू अराजनीतिक व्यक्ति भएपनि राजनीतिबाट टाढा रहने नसक्ने भन्दै हमालले भने- 'सबैलाई मञ्जुरी हुने साझा दस्तावेज बनाउन सम्पूर्ण नेपाली नागरिकले भोट हाल्नै पर्छ, म पनि भोट हालेर सच्चा नागरिक बन्ने छु ।' यस्तै हमालले असन्तुष्ट पक्षलाई पनि संविधान सभामा समेट्न सरकारलाई आग्रह गरे ।

 


 

२ दशक उमेर पार गरिसकेकी अभिनेत्री करिष्मा मानधरले जीवनमै पहिलो पटक भोट हाल्न जान लागेको बताईन् । उनले भनिन्- 'म जस्तै हरेक महिलालाई यस ऐतिहासिक निर्वाचनमा भोट हालेर आफ्नो अधिकारको उपयोग मात्र हैन देश बनाउने जिम्वेवारी पनि ग्रहण गर्न आग्रह गर्दछु ।' बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले ९४ बर्षकी आफ्नी आमाले पनि भोट हाल्ने इच्छा व्यक्त गरेको सुनाउँदै भने- 'आमाको भोट हाल्ने उत्साहले मलाई ठूलो साहस दिएको छ । सबैले भने झैं मैले पनि सम्पूर्ण नेपालीहरूलाई भोट हालेर संविधान निर्माणका लागि उपयुक्त व्यक्ति छान्न सहयोग पुर्‍याउन आग्रह गर्दछु ।'

 

 

बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालले भोट हाल्दा हाल्दा हरेश खाईसके पनि भोट हाल्न नछोडेको भन्दै संविधान निर्माणका लागि हरेक भोटको महत्व रहेकाले जुनसुकौ अवस्था आएपनि भोट हालेरै छोड्ने बताईन् । 'यसअघि खुट्टा भाँचिदा पनि भोट हाल्न गएकी थिएँ, अहिले त झन् नजाने कुरै भएन,' बसुन्धराले भनिन्- 'निडर भएर सम्पूर्ण नेपालीलाई भोट हाल्न जान अनुरोध गर्दछु ।' यस्तै हाँस्य कलाकार दिपकराज गिरीले अधिकार प्राप्त भएदेखि भोट हाल्न नछोडेको बताए । उनले भने डर र त्रासबाट मुक्त भएर भोट हाल्ल आग्रह गरे ।

 

 

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले भोट हाल्नका लागि निडर भएर जुत्ताको तुना कस्न जनतालाई आग्रह गरे । उनले भने- 'निर्धक्क भएर डर नमानि जुत्ताको तुना कस्न थाल्नुस्, अब भोट हाल्ने समय आएको छ ।' भोट हाले मात्र लोकतन्त्रको जित हुने आयुक्त उप्रेतीले बताए । यस्तै उनले निर्देशक समाजले अर्न्तक्रिया कार्यक्रमको आयोजना गरेकोमा बधाई दिंदै फिल्ममा जमेका फिल्मकर्मीमा राजनीतिमा पनि जम्ने क्षमता देखेको धारणा राखे । 'आजको कार्यक्रममा सेलिब्रेटी बोलेको सुन्दा मलाई लाग्यो, नेपाली फिल्मकर्मीले जमिन र आकाश तताउन सक्छन् ।'

 

यस्तै निर्माता संघका अध्यक्ष राजकुमार राईले भने फरक विचार राख्दै भने- 'फिल्म क्षेत्र राष्ट्रबाट उपेक्षित भईरहेको छ । यस्तो अवस्था आउन नदिन म हरेक फिल्मकर्मीलाई संविधान सभाको निर्वाचनमा सहभागी हुन आग्रह गर्दछु । कलाकारको काम नाच्ने गाउने मात्र हैन, भोट हालेर आफ्नो क्षेत्र सहित देशको विकास गर्ने दायित्व पनि हो ।' चलचित्र पत्रकार संघका अध्यक्ष विदूर गिरीले पत्रकारले कुनै राजनीति पार्टीको झण्डा नबोके पनि भोट भने हाल्नु पर्ने धारणा राखे ।

 

 

यस्तै कार्यक्रममा गायक राजेश पायल राईले भने- 'भोट दियौं पटक पटक, संविधान निर्माणका लागि भोट हालौं अन्तिम पटक ।' गायिका कुन्ति मोक्तान, अभिनेत्री निशा अधिकारी, प्राबिधिक संघका अध्यक्ष मनोज केसी, कलाकार संघका महासचिव रामकेशर बोगटी, निर्देशक समाजका उपाध्यक्ष सुचित्रा श्रेष्ठ, फिल्मकर्मी लक्ष्मीनाथ शर्मा लगायतले राम्रो मान्छे छानेर भोट हाल्न आग्रह गर्दै आफूहरूले पनि भोट हालेर सच्चा नागरिकको परिचय दिने प्रतिबद्धता जनाए ।

 

 

कार्यक्रमको अन्त्यमा बोल्दै सभापतिको आसन ग्रहण गरेका निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले बन्दुकको गोली भन्दा शक्तिशाली भोट रहेको भन्दै आफ्नो भोट खेर जान नदिन आग्रह गरे ।