कलाकारका लागी रजतपटमा प्रवेश गर्नु मात्रै ठुलो उपलब्धी रहेन । प्रवेश पछिको व्यस्तता र अभिनित फिल्मले गर्ने व्यापार तथा प्रतिक्रिया नै कलाकारका लागी महत्वपूर्ण रहने देखिएको छ ।
नेपाली रजतपटमा केही वर्षयता दर्जनौं नव कलाकार स्टार हुने सपना देखेर प्रवेश गरिरहेका छन् । रजतपटमा प्रवेश गर्ने सबै कलाकार सफल भए त ? गएको दुई वर्षयता रजतपटमा प्रवेश गरेका नव कलाकार (अभिनेता र अभिनेत्री) जो पहिलो फिल्ममा मात्रै सिमित रहे ।
सुगठित शरीरका धनी आकाश विक्रम शाहको 'वडीगार्ड' फिल्म मार्फत रजतपटमा इन्ट्री भयो । आकाशको 'वडीगार्ड' सलमान खानको 'वडीगार्ड'को एक छेउ पनि पुग्न सकेन । फिल्मको व्यापारबाट निर्माता सुशिल पोखरेलको लगानी बालुवामा डुवे सरह भयो । अभिनेता शाह 'वडीगार्ड' पछि फिल्मको सुटिङमा भन्दा पनि वडी बनाउनमै व्यस्त छन् ।
टेलिभिजनमा कार्टुन कार्यक्रम होस्ट गर्ने दिप्ती गिरीलाई पनि कृषा चौंलागाइँले 'के म तिम्रो साथी बन्न सक्छु' फिल्ममा हिरोइन बनाइन् । न कृषाको फिल्मले साथी बनाउन सक्यो न दिप्ती नै अन्य निर्माता निर्देशकको साथी बन्न सकिन् । मोटो शरीर र पढाइलाई कारण देखाउँदै दिप्ती फिल्ममा फर्कन सकेकी छैनन् ।
निर्देशक नारायण पुरीका पुत्र संयम पुरी पनि 'सायद' फिल्मबाट हिरो भएर रजतपटमा डेव्य गरे । होचा कदका संयमले अर्वाड फङ्सनमा नव अभिनेताको अर्वाडमा राम्रै कब्जा जमाए । तर, उनी 'सायद' पछि कुन फिल्मका हिरो भए त ? संयम अभिनित न कुनै फिल्म प्रदर्शनको तयारीमा छन्, न फ्लोरमै । उनी खेल्ने भनिएको फिल्म पनि विविध कारणले गर्दा फ्लोरमा जान सकेका छैनन् ।
चोरीको आरोप लागेको फिल्म 'मञ्जरी'बाट राम्रो अभिनय गर्न सक्ने अभिनेत्रीका रुपमा उदाइन् सुजता कोइराला । फिल्म सम्बन्धी पढाइ हुने ओस्कार कलेजकी विद्यार्थी समेत रहेकी सुजता पनि 'मञ्जरी' बाहेकका फिल्ममा व्यस्त भइनन् । जबकी मञ्जरीमा उनकै अपोजिटमा रहेका फोहोरी केटा गौरव पहारी भने अन्य फिल्मको सुटिङ्मा व्यस्त छन् ।
'मिस यू' फिल्मबाट अभिनयमा राम्रो छाप छोडेका मोडल तथा अभिनेता बरूण राणा पनि उक्त फिल्मपछि व्याक हुन सकेका छैनन् । उनले आफ्नै कार्यव्यस्तताले व्याक हुन नसकेको प्रतिक्रिया दिने गरेका छन् । फिल्म 'सो सिम्पल'मा मुख्य कलाकार भएर अभिनय गरेका लेखक प्रदिप भारद्वाजका भाई प्रमोद भारद्वाज र निर्देशक शिव रेग्मीकी छोरी भावना रेग्मी पनि दोस्रो फिल्ममा देखिएका छैनन् । यी बाहेक अन्य पनि थुप्रै कलाकार छन् जो पहिलोबाट दोस्रो हुन सकेका छैनन् ।

