Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

रजतपटमा युवा निर्देशक : को-को भए सफल ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/14

फिल्म सम्बन्धी पढेका र यस विषयमा ज्ञान भएका युवा निर्देशकको प्रवेशले रजतपटमा नयाँ तरंग थपिदिएको छ । युवा निर्देशकको प्रवेशले नेपाली फिल्मप्रति युवापुस्ता आकर्षित भैरहेको भन्ने विश्लेषण गरिदैंछ ।

 

'लुट', 'चपली हाइट', 'होस्टेल' जस्ता फिल्म व्यापारिक रुपमा सफल मानिए जस्का निर्देशक युवा थिए । नव आगन्तुकको भिडमा सबै युवा निर्देशक सफल भएको देखिंदैन । म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङले 'सानो संसार' र 'कोही मेरो' फिल्म निर्देशन गरे । तर यी दुवै फिल्म व्यापारिक रुपमा सफल हुन सकेन । तर आलोकको चर्चा भने चुलिनै रह्यो । फिल्मसँगै आलोकको चर्चा चुलिए पनि उनी पुन: निर्देशनमा फर्कन सकेका छैनन् ।
 

अर्का युवा निर्देशक सुदर्शन थापाले करिब आधा दर्जन फिल्म निर्देशन गरे । तर, विडम्वना यी निर्देशकका फिल्मले ब्लकबस्टरको व्यापार गर्न असमर्थ भएका छन् । युवा पिंढीको कथालाई पर्दामा उतार्ने यी निर्देशक सफल फिल्मको प्रतिक्षामा छन् । सुदर्शन अहिले फिल्म निर्देशन भन्दा पनि अभिनय तिर सोझिएका छन् । पछिल्लो पटक 'मधुमास' फिल्म निर्देशन गरेका सुदर्शन 'लम्फू' फिल्ममा मुख्य कलाकार भएर अभिनय गर्न व्यस्त छन् ।

 

'द युगदेखि युगसम्म' र 'धर्मा' फिल्मबाट खासै वुस्ट हुन नसकेका निर्देशक दिपेन्द्र के. खनाल सेक्स क्राइमको फिल्म 'चपली हाइट'बाट एकाएक चर्चामा आए । तर, दिपेन्द्र थ्रिडी फिल्म 'भिजिलान्ते'बाट नराम्रोसँग चिप्लिए । दिपेन्द्र के.खनालको 'झोले' रिलिजको तयारीमा छ । 'झोले'बाट दिपेन्द्रले हिट निर्देशकको छविलाई पुर्नस्थापित गर्लान् ? फिल्म प्रदर्शनमा नआएसम्म यसै भन्न नसकिएला ।

 

पछिल्लो पटक आर्यन सिग्देललाई धुवाँ उढाउन लगाएर 'धुवाँ यो नशा' नामक फिल्म निर्देशन गरेका लक्ष्मण रिजालले पनि सफल फिल्म दिन सकेका छैनन् । लक्ष्मणले केही समय अगाडी आर्यन सिग्देललाई नै मुख्य पात्र बनाएर फिल्म निर्देशनको घोषणा गरेका छन् । घोषणा भएको लामो समयसम्म पनि फिल्मको सुटिङ सुरु हुन सकेको छैन । एउटै ब्लकबस्टर फिल्म 'लुट'बाट निश्चल बस्नेत 'ए' ग्रेडका निर्देशकको रुपमा परिचित भए । दोस्रो फिल्म 'टलक जंग भर्सेस टुल्के' लिएर निश्चल परिक्षामा उत्रिंदैछन् । लुटकै दयाह्याङ राई र ऋचा शर्मा दोहोरिएको फिल्मलाई निश्चलले कस्तो बनाएका छन् ? फिल्मको प्रदर्शन मिति तय भैसकेको छैन ।

 

'अध्याय' फिल्मका युवा निर्देशक प्रबिन स्याङ्बोले फिल्म राम्रो बनाएको प्रतिक्रिया आयो तर व्यापारिक रुपमा फिल्म फल्प बन्न पुग्यो । इनिसियल व्यापार गर्न सफल फिल्म 'छड्के'लाई निगम श्रेष्ठले झुर फिल्म बनाएको आरोप खेप्नु पर्यो । दिवाकर भट्टराईले स्टार कलाकार राजेश हमाल, रेखा थापा जस्ता कलाकारलाई लिएर 'मेरो जीवन साथी' नामक फिल्म निर्देशन गरे । सिङ्गल स्टेशन केन्द्रित फिल्मले व्यापारसँगै प्रतिक्रिया पनि पनि उत्साहको आएन । दिवाकर हाल 'स्टुपिड मन' फिल्मको निर्देशनमा व्यस्त छन् ।

 

त्यस्तै 'अन्तराल' फिल्मबाट युवा महिला निर्देशक दिपा बस्नेतको प्रवेश भयो । दिपा हिट या फल्प ? भर्खरै पुत्र लाभ गरेकी दिपा मध्यम कोटीकी निर्देशकमा काउन्ट भइन् । दिपाको 'अन्तराल'लाई हेर्ने जति दर्शकले मन पराए तर हल भने हाउसफुल हुन सकेन । मुम्बइमा फिल्म निर्देशनको कोर्स र बलिउड टेलिफिल्म निर्देशनको अनुभव बटुलेका हेमराज विसीको 'होस्टेल' फिल्म व्यापारिक रुपमा सफल मानियो ।

 

'मालतीको भट्टी'बाट व्यापार राम्रो पाए पनि कमेन्ट ठिकै पाएका निर्देशक गणेश देव पाण्डेको दोस्रो फिल्म 'मञ्जरी'लाई चोरीको आरोप लाग्यो । 'मञ्जरी'को व्यापार पनि सन्तोषजनक हुन सकेन । जोयश पाण्डेले सेक्स कन्टेन्टको 'साँघुरो' चित्तबुझ्दो बनाए तर, फिल्म व्यापारिक रुपमा सफल हुन सकेन । कर्कशले लगानी उठाउने व्यापार गरेपनि निर्देशक आशिफ शाहले जश पाएनन् ।

 

निर्देशक सविर श्रेष्ठ भने रेखा फिल्मस्मा मात्रै लक्की देखिए । 'कस्ले चोर्यो मेरो मन' देखि कालीसम्म रेखा फिल्मस्का सुपरहिट फिल्म दिएका सविरका 'के म तिम्रो साथी बन्न सक्छु' र 'इशारा' चल्न सकेनन् । 'अपवाद'का निर्देशक सुवास कोइराला भने युवा निर्देशकमा अपवाद हुन सकेनन् । निर्देशक कोइरालाले निर्मातालाई घाटा पुर्याएनन् र आवरण निर्देशन गर्दै गरेका निर्देशक रातारात हिट पनि भएनन् । 'भिसा गर्ल' निर्देशन गरेर निकै चुरीफुरी देखाउने प्रचण्डमान श्रेष्ठको फिल्म फल्प भएसँगै अर्को फिल्म निर्देशन गर्ने भिसा लागेन ।

 

फिल्म निर्देशन भन्दा पहिल्यै डिभी परेर अमेरिकाको भिसा लगाएका निर्देशक नवराज आचार्यले निर्देशन गरेको 'कलिउड' वर्तमान कलिउड जस्तै भयो, 'फल्प' । कलिउडमा नयाँ रङ्ग भर्न आएका रोशन हमाल ठकुरीको फिल्म 'रंग'ले पनि कुनै रंग भर्न सकेन । रोशन आए गए कसैलाई वास्तै भएन । अर्का युवा निर्देशक दिपक रौनियार निर्देशित 'हाइवे' फिल्म नेपालको खाल्डाखुल्डी युक्त हाइवे जस्तै भयो । 'हाइवे' हेर्न दर्शकले यस्तै प्रतिक्रिया दिए ।

 

असफल निर्देशकको कोटिमा काउन्ट हुन आए अर्का निर्देशक पिताम्वर पाण्डे । पाण्डेका दुवै फिल्म 'ब्याच नम्वर १६' र 'ढुवानी' असफल हुन गए । राम्रै ढुवानी गर्ने अपेक्षा गरिएको 'ढुवानी' फिल्मले कुनै माखो मार्न सकेन । ढुवानीको ब्यापारले निर्मात्री कविता श्रेष्ठलाई समेत फिल्म निर्माण बारे दोधारमा पारिदिएको छ । पहिलो फिल्म 'स्वर'ले कुनै जादु छर्न नसकेपछि निर्देशक प्रसन्न पौडेल फिल्म निर्देशनको घोषणमै व्यस्त छन् । प्रसन्न निर्देशित दुई फिल्म पोष्टमै अल्झिएका छन् ।

 

डेव्यु फिल्म 'मिसन पैसा'बाट निर्मातालाई चुर्लुम्म डुबाएका निर्देशक सिमोस सुनुवार युथ टार्गेटेड फिल्म 'फस्ट लभ'बाट वुस्ट भए । तर, हिट फिल्म 'फस्ट लभ'का निर्देशक सुनुवार 'मिसन पैसा रिलोडेड'मा अल्झिएका छन् । उनको करिअर रिलोड होला ? फिल्म कहिले आउने पत्तै छैन । अर्का युवा निर्देशक सुरेश दर्पण पोखरेल पनि फिल्म निर्देशनमा सफल हुन सकेनन् । पहिलो फिल्म 'निशाना'ले राम्रै कमाइ गर्‍यो । उनका अन्य फिल्म संख्यामा सिमित भए, सफल हुन सकेनन् ।

 

पहिलो फिल्म 'पलपलमा' सेक्स कन्टेन्टलाई राम्रै सेल गरेका निर्देशक उकेश दाहालको सेक्स कन्टेन्ट बेच्ने दोस्रो प्रयास सफल हुन सकेन । उकेश निर्देशित दोस्रो फिल्म 'किन किन'को व्यापार उस्तो भएन । महिला निर्देशक रक्षा सिंह राणा भने फिल्म निर्देशन गर्ने खेलमा हार खाएर फर्किइन् । उनले निर्देशन गरेको पहिलो फिल्म 'द गेम' नै फल्प बन्न पुग्यो । नेपाली समाजमा विद्यमान समस्याको रुपमा रहेको समलिङ्गी प्रेमलाई पर्दामा उतारेका निर्देशक सुवर्ण थापाको 'सुनगाभा' फिल्म व्यापारिक रुपमा सफल भएन । तर, थापा निर्देशित 'सुनगाभा'ले अन्र्तराष्ट्रिय महोत्सव तथा ओस्करमा नेपालको प्रतिधित्व गर्ने अवसर भने पाएको छ ।


यी बाहेक फिल्म क्षेत्रमा थुप्रै निर्देशन गर्न आए । तर, आएजति भाग्य चम्काउने सपना देखेर मात्रै फर्किए । केही भने अझै रजतपटमा सफल हुने प्रयासमा छन् । छविराज प्रोडक्नको 'लोफर' फिल्म मार्फत आदित्य विक्रम लम्साल युवा निर्देशकको रुपमा भित्रिदैंछन् । आदित्यको फिल्मले दर्शकको मन छोएर हिटको व्यापार गर्ला ? मंसिर २१ सम्म प्रतिक्षा गर्रौ ।