बर्तमान साँगितिक बजारमा फिल्म 'विन्दास २' मा समावेश 'सुन्छु तिमीले मलाई... ' बोलको गीत सर्वाधिक हिट भैरहेको छ । अर्जुन पोखरेलको संगीत र शिव परियारको स्वर रहेको यस गीतलाई मोबाइलमा रिङ ब्याक टोन राख्नेको संख्या दिनानुदिन बढ्दै छ । बताइएअनुसार यो गीत छोटो समयमै धेरै पटक डाउनलोड हुने गीत हो ।
सर्वाधिक रुचाइएको 'सुन्छु तिमीले मलाई... ' बोलको गीतको संगीत भने हिन्दी फिल्म 'वन्स अपन अ टाइम इन मुम्बइ'को 'तुम जो आए जिन्दगी में....' गीतको संगीतको केहि बिट मिल्न गएको छ । सामाजिक संजालमा अर्जुनको यो सिर्जनालाई कपीको आरोप लाग्न थालेको छ । संगीतकार अर्जुन पोखरेलले हिन्दी गीतको संगीत वुद्धि पुर्याएर मिलाएका हुन् या मिल्न गयो ? संगीतकार पोखरेलले सिधैं अस्विकार गरे ।
संगीतकार पोखरेलले गीतमा भूपाली राग, व्रिन्दावनी सारङ्क र आफ्नो पहिलो गीतलाई मिक्स गराएर पूर्ण रुपमा आफ्नोपन दिन खोजेको दाबी गरे । उनले भने- 'मैले गीतमा लो स्केल प्रयोग गरेको छु जबकी त्यस गीतमा हाई स्केल छ ।' 'विन्दास २'को गीत हिन्दी फिल्मको गीतसँग मिल्न गयो या मिलाइयो ? म्युजिक बिट मिल्न गएपनि दर्शक तथा स्रोताले रूचाएपछि अर्जुन पनि दंग छन् । अहिले उनी पार्श्व संगीतको क्षेत्रमा उज्यालो तारा बनिरहेका छन् ।

