एफएम रेडियो अडियोले बुधबार हाँस्य सम्राट हरिबंश आचार्यको ५६ औं जन्मदिन सेलिब्रेट गर्यो । जन्मदिन सेलिब्रेसनमा श्रीमती रमिलाको साथमा उपस्थित भएका हरिबंशले शतायु बाँच्ने इच्छा रहेको बताए ।
'रमिलासँगको जीवन बल्ल शुरू हुँदैछ । अझै आधा सतक बाँच्न पाए हुन्थ्यो भन्ने लागेको छ,' हरिबंशले भने- 'कुनै समय मलाई चाँडै मर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर आजभोलि यो जिन्दगी प्यारो लाग्न थालेको छ । यसरी माया गर्नेहरूको भिंडमा रहन पाउँदा अझै बाँच्ने रहर उत्पन्न हुन्छ ।'
कार्यक्रममा सदा हँसिलो रुपमा प्रस्तुत हुने हरिवंशले जन्मदिनका अवसरमा साथीभाइले आफूप्रति गरेको सम्मानले भावुक बनाएको प्रतिक्रिया दिए । `ह्याप्पी बर्थडे` भनिरहँदा हरिबंशले कलाकारहरूको माझ भने- 'नेपालका सबै हाँस्यकलाकारलाई एउटै टेलिसिरियलमा खेलाउने ईच्छा छ । त्यसको तयारी पनि गरिरहेको छु ।'
रेडियो अडियोको कार्यकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा हरिबंशलाई जन्मदिनको शुभकामना सहित दीर्घायुको कामना व्यक्त गर्न हाँस्यकलाकारहरू दिपकराज गिरी, दिपाश्री निरौला, शिवहरि पौडेल, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हरिवंशका अभिन्न मित्र राजु भुजु, मुकुन्द अधिकारी, मह संचारका गौरीशंकर धुजु तथा नरेन्द्र कंसाकार, कलाकार कविता शर्मा आदिको उपस्थिति थियो ।
श्रीमतीको उपचारका लागि भारत पुगेकाले हरिबंशका जोडी मदनकृष्ण श्रेष्ठ भने कार्यक्रममा उपस्थित हुन सकेनन् । हरिवंशले मदनकृष्णलाई सम्झिरहेको बताउँदै पूर्वपत्नी मिरा आचार्यलाई पनि स्मरण गरे । ‘मिरा पनि मेरो जन्मदिनमा खुबै उत्साहित हुन्थिन्,' हरिबंशले भने- 'अहिले म उनलाई सम्झिरहेकी छु । जहाँ रहेपनि मेरो माया छ उनलाई ।’
हरिवंशको जन्मदिन मनाउनसँगै रहेकी श्रीमती रमिलाले जन्मदिनको शुभकामना बिहानै दिएको भएपनि उपहार भने दिन नपाएको गुनासो गरिन् । ‘उहाँलाई शुभकामना त बेलैमा दिएकी थिएँ तर उपहार भने दिन पाइन,’ रमिलाले भनिन् । रमिलाले दिन लागेको उपहारको रहस्य खोल्दै हरिबंशले भने- ‘रमिलाले मलाई स्पोर्ट सुज दिन खोजेकी थिइन् । यता आउनु अघि दरबार मार्गमा किन्न पनि खोजेका थियौं । जुत्ता त मन परेको थियो तर पैसा मन परेन ।'
‘मदन दाइ र तपाईंकै कारण यो हाँस्य क्षेत्रले सम्मान पाएको छ,' हरिवंशलाई शुभकामना दिंदै कलाकार दिपकराज गिरीले भने- 'मह जोडीले झैं मान्छेलाई हँसाएर मनोरञ्जन दिने काम गर्छौं भनेर भन्न पाउँदा हामीलाई गर्व लाग्छ ।' दीपाश्री निरौलाले शुभकामना सहित गणेशको मूर्ति उपहार दिंदै भनिन्- ‘यस्तो प्रिय मान्छे हामीलाई दिनुभएकोमा दाइकी आमा गणेश कुमारीलाई धेरै धेरै धन्यवाद छ । यो गणेशको मूर्ति उहाँकै सम्झनाका लागि ।
हरेक हाँस्य कलाकारको जन्मोत्सव मनाउँदै आएको जानकारी दिंदै एफएम सञ्चालक दिपेन्द्र खनियाँले अरुको तुलनामा ‘मह’को जन्मोत्सव भने विशेष तरिकाले मनाईंदै आएको बताए । कारण, रेडियो अडियो एफएमको उदघाटन मह जोडीले नै गरेका थिए । यो एफएमले केहि महिना अगाडी मात्रै अभिनेत्री दिपाश्रीको जन्मदिन सेलिब्रेट गरेको थियो ।







