नयाँ वर्ष र चाडपर्व छाडेर मंसिरको जाडोमा फिल्म रिलिज गर्ने दौडधुपमा रहेका निर्माता छवि ओझाको 'लोफर' जुन सुकै हालतमा पनि हिट हुनुपर्नेछ । सिङगल छोडेर मल्टिप्लेक्स स्टेशनमा सोझिएका छविको लोफरले फिल्म क्षेत्रसँगै अभिनेता आर्यन सिग्देल, नव निर्देशक आदित्य विक्रम लम्साल र नव कलाकार रजनी केसीको भविष्य निर्धारण गर्नेछ ।
यसअघि छविले निर्माण गरेका हिम्मत, किस्मत, कस्ले चोर्यो मेरो मनदेखि रावणसम्मका फिल्मले सुस्ताएको फिल्मी बजारलाई उठाएका थिए । फिल्म निर्माण गरेर अहिलेसम्म खासै घाटामा नगएका छवि लोफरबाट पनि सुरक्षित होलान् ? छवि ब्राण्ड रेखा थापा फिल्ममा नभएकाले छविलाई सजिलो भने नहुने अड्कल काटिएको छ । त्यसैले पूर्व पत्नी रेखा थापा विना पनि फिल्म सफल हुन्छन् भन्ने जवाफ दिन छविको लोफर हिट हुन जरुरी छ ।
हुनत रेखालाई हिट बनाउने नै छबि हुन् । अन्तिम समयमा आएर रेखाको 'काली'लाई बजार व्यवस्थापन गरेर छबिले फिल्म हिट बनाएर देखाए । तरपनि, रेखा बिना नै लोफर हिट गराउनु नै छविको मुख्य चुनौती रहेको बजारमा चर्चा छ । हुनत छबि फिल्म सफल हुनेमा ढुक्क छन् । उनले यो फिल्म हिट भए रेखालाई नै लिएर मल्टिप्लेक्स टार्गेट फिल्म बनाउने फिल्मीखबरलाई बताएका छन् ।
त्यस्तै अभिनेता आर्यन सिग्देलको लागी पनि लोफर हिट हुन जरुरी छ । यसअघि प्रदर्शनमा आएका आर्यन अभिनित फिल्म सफल हुन सकेका छैनन् । आर्यनलाई पनि रेखा बिना हिट हुन नसकेको हिरो भन्ने आरोप लाग्दै आएको छ । यो आरोपलाई पखाल्न र करिअरमा हिट फिल्मको नाम दर्ता गर्न आर्यनको लागी लोफर हिट हुन आवश्यक छ । आर्यनलाई हाइलाइट गरिएको लोफर असफल भएमा उनले निर्माण गर्दै गरेको फिल्म 'नोभेम्वर रेन'को व्यापारलाई समेत असर पर्न सक्ने आँकलन गरिदैंछ ।
निर्देशक आदित्य विक्रमलाई भने लोफर हिट भएर मात्रै पुग्ने छैन । फिल्म हेर्ने जतिले राम्रो पनि भनिदिनु पर्नेछ । फिल्मको समिक्षा राम्रो आउनुको साथै व्यापार पनि राम्रो गर्नु पर्ने आदित्यलाई चुनौती छ । हिट र राम्रो भन्ने चुनौतीलाई पार गरेर आदित्यलाई अन्य फिल्म निर्देशन गर्ने ढोका खुल्नेछन् ।
पछिल्लो समय आउँदै जाँदै गर्ने अभिनेत्रीको लिस्टमा नपर्न रजनी केसीलाई लोफर चल्नुपर्ने देखिन्छ । पछिल्लो समयका व्यस्त कलाकार दयाह्याङ राईको लागी पनि लोफर चल्नुपर्नेछ । कारण, दयाह्याङ नै लोफरका मुख्य कलाकार हुन् । यी चुनौतीलाई पार गर्दै लोफर हिट बनोस् भन्ने हाम्रो कामना !

