अभिनेत्री सौजन्य सुब्बा अभिनयमा सक्रिय भएकी छिन् । सौजन्यले शेर्पा भाषाको फिल्म 'कुसुम'मा मुख्य अभिनेत्री भएर काम गर्दैछिन् । 'शेर्पा भाषाको सम्बर्द्धन गर्नुपर्छ भन्ने फिल्मको सन्देश छ', सौजन्यले सुनाइन्- 'फिल्मको कथा र रोल चित्त बुझेर अभिनय गर्न राजी भएकी हुँ ।'

'कुसुम' युनिट काठमाडौंको सुटिङ सकेर जिरी जाने तयारी गर्दै गरेको वडिगार्ड हिरोइन सुब्बाले जानकारी दिइन् । 'कुसुम'लाई सागर सुब्बाले निर्देशन गर्दैछन् । सौजन्य सुब्बा र डोल्मा शेर्पा बाहेक फिल्मका सबै कलाकार नयाँ हुन् । एक वर्ष अघि 'वडिगार्ड' फिल्म रिलिज भए पछि सौजन्यका कुनै पनि फिल्म प्रदर्शनमा आएका छैनन् । उनी अभिनित 'फ्रेन्च लभ' मात्रै प्रदर्शनको पर्खाइमा छ ।
बिचमा व्यक्तिगत कारणले मिडियाको मसला बनेकी सौजन्य सुब्बा राम्रो अभिनय गर्ने अभिनेत्रीमा काउन्ट हुन्छिन् । साहित्यिक कृतिको फिल्म 'शिरिषको फूल'की सहायक हिरोइन बिचको एक वर्ष किन अभिनयबाट हराइन् त ? कारणबारे सौजन्यले भनिन्- 'अभिनयबाट टाढा हुने मेरो रहर हैन । तर पछिल्लो समय निर्माण भएका फिल्ममा मैंले अभिनय गर्नु उचित ठानिन ।'
पर्दामा प्रायः सोभर क्यारेक्टरमा प्रस्तुत हुने सौजन्य थप्छिन्- 'म सबै दर्शकले हेर्न मिल्ने फिल्ममा खेल्न रुचाउँछु । राम्रो कथा र युनिट भएको फिल्मको पर्खाइमा छु ।' सौजन्यले बिचमा आफु फिल्मको निर्देशनमा व्यस्त भएको समेत जानकारी दिइन् । सौजन्यले 'माइ लभ' नामक फिल्ममा असिस्टेन्ट डिरेक्टर भएर काम गरेको बताइन् ।

