कला संस्कृतिको माध्यमबाट मुम्बइमा चर्चा कमाएका मकवानपुरे युवा जमातको चर्चा बेलाबेला सुन्न र पढ्न पाइन्छ । १६ वर्षदेखि मुम्बइको रंगमञ्चमा रमाईरहने हेटौंडेली बिसारथ बस्नेत धेरै कम नेपालीको आँखामा देखिए होला । संयोग उनको कला नेपालमा होइन विदेशमा बेचिँदा नेपालीहरु महंगो विदेशी भारमा परेको पत्तो पाइरहेका छैनन् ।
कुरा हो, मकवानपुर क्याम्पस रोड नजिक घर भएका उनै ३० वर्षे ठिटो बिसारथ बस्नेतको जो आजभन्दा १६ वर्षअघि मुम्बइ पसेका थिए । एसएलसीसम्मको अध्ययन नेपालमै गरेका बस्नेत सानै उमेरदेखि रंगमञ्चको मोहमा परे । एसएलसी पश्चात मुम्बइ गएका बस्नेत आईपीटीए संस्थामा नाटक प्रशिक्षण लिएर मुम्बइ बसाइको स्थिरता बनाउन सफल भएका थिए ।
सर्कस, नाटक, अभिनयसम्बन्धी प्रशिक्षण पाएका यिनले अंग्रेजी र हिन्दी नाटकको स्वाद चाख्दाचाख्दै धेरै रंगमञ्चेहरुको संगतमा दिन प्रतिदिन नयाँ काम पाउँदा मुम्बइ मोह यिनको लागि रोचक नै बन्न थाल्यो । 'मुम्बइ ठूलो शहर, आफूसँग क्षमता छ बिक्यो, छैन विक्दैन,' बस्नेत सुनाउँछन् । रोजीरोटीका लागि नेपालमा दिनरात खटेपनि खानलाउन धौधौ परिरहेको नेपाली साथीभाइको हविगत देखेर बस्नेतलाई नेपाल फर्कने मोह कहिल्यै जागेन । बस्नेत भन्छन्– ‘मुम्बइमा एक महिना काम गर्यो भने त एक वर्ष खान पुग्छ ।’

नेपालमा बजार सानो र व्यवसायिक हुन नसकेको प्रतिउत्तर दिंदै उनी भन्छन्– ‘नेपालीले कहिल्यै अन्तर्राष्ट्रिय बजार बुझेनन् ।’ नेपाली आफ्नो गुणस्तरमा आफैं विश्वास नमानी अगाडि नबढेकाले यस्तो भएको उनी बताउँछन् । रंगमञ्चको अभिनय यात्रासंगै मुम्बइको नेल्सन वल्र्ड एजेन्सीमा व्यवसायिक विज्ञापन बनाउने अनुभव समेत पाइसकेका यिनले चर्चित विज्ञापन चित्ता कि पित्ता, चन्दुकी चाची नामक विज्ञापनमा अभिनयका साथ चिफ असिस्टेन्ट डाइरेक्टरको भूमिकासमेत निर्वाह गरिसकेको छन् ।
नाटकको क्षेत्रमा दिल्ली, कोलकाता, मद्रास, देहरादुन लगायत स्थानमा पुगिसकेका यिनी कलर्स च्यानलका लागि सिरियल लेख्ने काम गरेको पनि बताउँछन् । मुम्बइमा नाटकसम्बन्धी अभिनयको प्रशिक्षकसमेत बनिसकेका यिनले सर्ट फिल्म 'बिट्वीन द लायन्स'मा समेत काम गरिसकेका छन् । अन्तर्राष्ट्रिय बजारमा सर्ट फिल्मको राम्रो चर्चा हुने ज्ञान बटुलेका बस्नेत खासगरी मुम्बइमा कल्लाउन थियटरले आफुलाई चिनाउने धारणा ब्यक्त गर्छन् ।
जोकर बनेपछि कसरी दर्शकहरुलाई हँसाउन सकिन्छ भन्ने बस्नेतको खास कलाकारिता हो । क्लाउन थियटर कलाकारितासँगै मुम्बइमा सफ्टवेयर विजनेस सम्हालिरहेका यिनी राम्रो निर्माता र कलाकार पाए गुणस्तरीय नेपाली फिल्म निर्देशन गर्ने उनको चाहना छ । मार्च २०१४ मा 'नबी मुम्बइ अन्तराष्ट्रिय चलचित्र महोत्सब'को तयारीमा लागी परेका यिनी उक्त महोत्सबमा नेपाली फिल्मको पनि सहभागिता का लागी अहिले यसको प्रोमोशनका लागी नेपाल आएका छन् ।
मार्च २०१४ मा हुन गैरहेको यस महोत्सबमा नेपाली फिल्म सहभागीता हुन डिसेम्बर २०१३ सम्म दर्ता खुल्ला गरिएको छ । मुम्बइका अनुभबी फिल्मीकर्मीहरुको सहभागीतामा आयोजना हुन लागेको यो महोत्सबमा ५ बर्ष यताका फिल्महरुले सहभागिता पाउने बताईएको छ । नेपाली फिल्मलाई बिश्वबजारीकरण गर्ने उदेश्यले यस महोत्सबमा नेपाली फिल्मलाई सहभागिता जनाउन अनुरोध गरिएको बिसारथ बस्नेतले बताईए ।
महोत्सबमा सट फिल्म, डकुमेन्ट्री, ठुलो प्रर्दा फिचर फिल्म जस्ता फिल्महरुले सहभागीता पाउने उनले बताए । महोत्सबमा अर्जेन्टिना, साईबेरिया, ब्राजिल, सिरिया, बंगलादेश लगाएतका देशहरुबाट पनि फिल्महरुले सहभागिता जनाउने बताईएको छ । महोत्सबमा छ सय फिल्महरुको सहभागिता रहने र त्यसबाट ५० वटा फिल्म प्रर्दशन गरिने बताईएको छ ।

