Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दमौलीमा `झमेला`को मुर्हुत, चुनावपछि सुटिङ

कृष्ण न्यौपाने, दमौली, 2013/11/12

ऋषि न्यौपानेको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘झमेला’को मंगलबार तनहुँको दमौलीमा शुभमुर्हुत गरिएको छ । तनहुँमा ठूलो पर्दाको फिल्म शुभमुर्हुत गरिएको पहिलो हो ।


पुरन गुरुङको निर्माण रहेको ‘झमेला’का कलाकार दिनेश शर्मा र लक्ष्मण जिसीले केही अंश बोलेर फिल्मको शुभमुर्हुत गरेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष प्रदीप काफ्लेले फिल्मको सफलताका लागि नरिवल फोरेका थिए । ४० लाखको लागतमा निर्माण गर्न लागिएको ‘झमेला’को छायाङ्कन भने चुनावपछि मात्रै गरिने निर्देशक न्यौपानेले बताए ।

 

‘फिल्मको सुटिङ तत्कालै गर्ने योजना थियो,’ निर्देशक न्यौपानेले भने- ‘तर नेकपा-माओवादी लगायत दलले गरेको यातायात बन्दका कारण तत्काल सम्भव भएन । चुनावपछि मात्रै सुटिङ सुरु हुन्छ ।’ फिल्मको सुटिङ दमौलीबाटै सुरु गरिने समेत उनले बताए । दमौलीस्थित शिवपञ्चायन मन्दिरबाट सुरु हुने फिल्मको सुटिङ दमौलीमा १० दिनसम्म हुनेछ । न्यौपानेले भने- ‘यहाँको मनोरम दृश्य फिल्मका लागि उपयुक्त हुने देखें ।’

 

 

दमौलीका अलवा फिल्मको पोखरा र नारायणगढमा समेत छायाङ्कन हुने उनले जानकारी दिए । उनका अनुसार ४०/४५ दिनमा फिल्मको छायाङ्कन सकिनेछ । निर्देशक न्यौपानेको ‘झमेला’ १४ औं फिल्म हो । कुनैपनि नयाँ कामको सुरुवात गर्दा आइपर्ने झमेलालाई केन्द्रित गरेर फिल्म निर्माण गरिएको न्यौपानेको भनाई छ । ‘साथीभाई बीच, श्रीमान श्रीमती बीच पनि कुनै पनि नयाँ काम गर्दा आइपर्ने झमेला नै फिल्मको मुख्य विषयवस्तु हो,’ उनले भने ।

 

फिल्मका कलाकार दिनेश शर्माले झमेला जीवनभर आइपरिरहने बताए । झमेला रहित समाज वा झमेला बिनाको समाज कुन ठिक हो त्यो भने दर्शकले फिल्म हेरेर छुट्याउनुपर्ने उनले बताए । फिल्ममा शर्मासँगै वीरेन डिसी, लक्ष्मण जिसी, महिमा सिलवाल, सुरवीर पण्डित, रामचन्द्र अधिकारी लगायतको अभिनय रहनेछ ।