नेकपा-माओवादी नेतृत्वको ३३ दलले गरेको आम हड्तालको भोलीपल्ट काठमाण्डौ तथा मोफसलका हलहरु खुलेका छन् । कार्तिक २५ गते आमहड्ताल हुँदा देशका सम्पूर्ण हलहरु बन्द भएका थिए । जस्को प्रत्यक्ष असर प्रदर्शनरत फिल्म काली, मधुमास र विन्दास २ लगायतका फिल्मलाई परेको छ ।
हल खुलेपनि यातायात चल्न नदिने ३३ दलको धम्की, चुनावी माहोल र हिंसाको त्रासले गर्दा दर्शक भने न्यून रहेको हलवालाले जानकारी दिएका छन् । हेटौंडाबाट हलवाला तथा वितरक नरेन्द्र महर्जन भन्छन्- 'हल खोल्नु मात्रै छ । एक शोमा १० जना दर्शक पनि छैनन् ।' नरेन्द्रले चुनाव पूर्व हलमा दर्शकको चाप न्यून हुने सम्भाव्यता देखाए ।
त्यस्तै सिद्धार्थ हलका सञ्चालक तथा वितरक गोपाल कायस्थ भन्छन्- 'चुनाव अघि घाम ताप्ने बाहेक अरु केही काम छैन ।' उनले पनि चुनाव पूर्व फिल्मको व्यापार शून्य नै हुने संकेत गरे । काठमाडौ र मोफसल गरी करिब एक सय तीस वटा पर्दामा फिल्म प्रदर्शन हुने गर्दछन् ।
चुनाव लगत्तै विग व्यानरको लोफर फिल्म रिलिज हुँदैछ । छवि ओझाले निर्माण गरेको लोफर मंसिर २१ गतेदेखि देशभरका पर्दाबाट प्रदर्शनमा आउँदैछ । छविको लोफरले चुनावमा सुकेका फिल्मी बजारलाई तताउँला ?

