Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल बन्द : हल बन्द तर क्यामेरा खुल्ला, आर्यनले लिए छुट्टी

फिल्मीखबर, काठमाण्डौ, 2013/11/11

वैद्य नेतृत्वको नेकपा माओवदी सहित चुनावको विपक्षमा देखिएका ३३ दलको नेपाल बन्द आव्हानले जनजीवन प्रभावित भएको छ । चुनाव बिरोधी दलको बन्दले देशका कुनै पनि फिल्म हल समेत खुल्न सकेका छैनन् ।

 

प्रदर्शनरत काली, मधुमास, विन्दास २, हिन्दी फिल्म कृष ३ लगायतका फिल्मको शो बन्द रहेको हलवालाले जानकारी दिएका छन् । मंसिर ४ गतेसम्म फिल्मको व्यापारमा शून्य जस्तै रहने वितरक तथा हलवाला नरेन्द्र महर्जन बताउँछन् । काठमाडौं र मोफसलका करिब एक सय भन्दा बढी पर्दामा फिल्म प्रदर्शन हुने गर्दछन् ।

 

 

बन्दले छेकेन फिल्म खिच्न

 

 

बन्दले हल बन्द भएपनि फिल्म खिच्ने कार्य भने रोकिएको छैन । ललितपुरस्थि कुपण्डोलमा छायाँकन भैरहेको फिल्म 'नाइ नभन्नु ल २' युनिट झिसमिसेमै सुटिङ हाउसमा पुग्यो । प्रियंका कार्की र बाल कलाकार अनुभव रेग्मी बन्द नेपालमा फिल्मको सट दिन व्यस्त छन् । लेखक, निर्देशक तथा निर्माता विकास आचार्यले इन्डोर सुटिङ भएकाले फिल्म खिच्न बन्दको प्रभाव नभएको बताए ।

 

कमलकृष्ण पौडेलले निर्देशन गरिरहेको एक्सन प्रधान फिल्म 'दमदार'को पनि पूर्वका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । तिहारको छुट्टीपछि फ्लोर पसेको 'दमदार'को मोरङको इटहरा, राजघाट, पथरी, सुनझोडा, बक्राह लगायतका स्थानमा छायाँकन हुँदैछ । यस फिल्मको झापास्थित अर्जुनधारा साथै भारतको सिलिगुडीमा पनि छायाङ्कन हुनेछ । सुटिङ भैरहेको स्थानमा बन्दको प्रभाव खासै नरहेको बताइन्छ । अर्जुनकुमार न्यौपानेको प्रस्तुती रहेको फिल्ममा अभिनेत्री रेखा थापा, सविन श्रेष्ठ र वासु पुँडासैनीको मुख्य भूमिका छ ।

 

आर्यनको फिल्मलाई छुट्टी

 

 

अभिनेता आर्यन सिग्देलले निर्माता सुवास गिरीसँग मिलेर निर्माण गरिरहेको 'नोभेम्वर रेन' युनिटले आज छुट्टी लिएको छ । बैद्यले गरेको बन्दलाई कारण देखाउँदै दिनेश राउतले निर्देशन गरिरहेको फिल्म युनिटले छुट्टी लिएको हो । फिल्ममा आर्यन सिग्देलको साथमा नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङको मुख्य अभिनय छ । फिल्मको बाँकी सुटिङ भोलीबाट थालिने बताइएको छ ।

 

चुनावपछि मात्रै उत्सव

सौगात मल्ल, गौरव पहारी, मेनुका प्रधान लगायतको मुख्य अभिनय रहेको उत्सवको बाँकी सुटिङ मंसिर ४ पछि मात्रै सुरु गर्ने निर्देशक कुमार भट्टराईले जानकारी दिएका छन् । फिल्मको १० दिन मात्रै सुटिङ बाँकी रहेको निर्देशकको भनाई छ । फिल्मका क्यामेरा पर्सन पुरुषोत्तम प्रधान हुन् ।

 

बन्द फिर्ता लिन मह जोडीको आग्रह

 

 

दोस्रो संविधान सभाको चुनावलाई सफल पार्रौ भन्दै हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कुनै पनि राजनीतिक दल तथा संघ संगठनले गर्ने बन्द र हड्तालको विरोध गरेका छन् । हाँस्य सम्राटले चुनाव विथोल्न वैद्य सहित ३३ दलले गरको बन्द आव्हानलाई फिर्ता लिन समेत आग्रह गरेका छन् ।

 

हस्ताक्षर सहितको अपिल पत्र लेख्दै हाँस्य सम्राटले बन्द फिर्ता लिन आग्रह गरेका छन् । कार्तिक २४ गते सार्वजनिक गरिएको पत्रमा लेखिएको छ- 'चुनावको छेउमा बन्द हड्ताल नगर्न हामी बन्दमा जाने नेता तथा दलहरुलाई अनुरोध गर्दछौं ।'