Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार पार्टीको कि राष्ट्रको ?

फिल्मीखबर, काठमाण्डौ, 2013/11/10

कलाकार राष्ट्र कि दल विशेषको ? यो विषयले बहसको रुप लिदैंछ । कलाकारले राजनीति गर्न नहुने एक थरीको धरणा छ । तर, नेपाली कलाकार पार्टी प्रवेश गर्ने क्रम घटेको छैन ।

 

अबिर माला लगाएर दर्जन भन्दा बढी कलाकार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । कार्तिक २३ गते शनिबार सभापती सुशिल कोइरालाको निवासमा अबिर र माला लगाएर काङ्ग्रेस प्रवेश गरे । काङ्ग्रेस पस्नेमा अभिनेता धिरेन शाक्य, मुकेश ढकाल, विरेन श्रेष्ठ, निरज बराल, अभिनेत्री रुपा राना, मेलिना मानन्धर छन् । त्यस्तै निर्देशक सुरज सुब्बा नाल्बो, कलाकार श्याम राई, आकाश बाबु खवास, छायाँकार पुरुषोत्तम प्रधान, फोटोग्राफर राजिव श्रेष्ठ, गायक प्रकाश ओझा, मेकअप पर्सन सन्तु तामाङ लगायत छन् ।

 

गत साता मात्रै कलाकार तथा निर्देशक निर शाह काङ्ग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्ने कलाकारले दोस्रो संविधान सभाको चुनावमा काङ्ग्रेसलाई जिताउन सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । नेपाली काङ्ग्रेसबाट निर्माता रमेशजंग रायमाझी मोरङ क्षेत्र नम्वर ८ बाट प्रत्यक्ष लड्दैछन् । एमाओवादी पार्टीमा नपाली सिने जगतका सय भन्दा बढी कलाकार प्रवेश गरिसकेका छन् । अभिनेत्री रेखा थापादेखि मौसमी मल्ल, निर्देशक केपी पाठक, संगीतकार चेतन सापकोटा लगायतका कलाकार एमाओवादीलाई जिताउन लागी परेका छन् ।

 

एमाले तर्फको चुनावी अभियानमा अभिनेता भुवन केसी सक्रिय छन् । प्रत्यक्ष तर्फको टिकट खोसेपछि एमालले भुवनलाई समानुपातिकमा तानेर थमाएको छ । एमालेको चुनावी अभियानमा भुवन सहित लोक गायक बद्री पंगेनी लगायत दर्जन कलाकार सक्रिय छन् । त्यस्तै कमल थापाको राप्रपाले निर्माता उद्धव पौडेललाई प्रत्यक्ष तर्फको टिकट उपलब्ध गराएको छ । निर्माता पौडेललाई भोट माग्न काठमाडौं क्षेत्र नम्वर ४ मा हरेक दिन जसो कलाकारहरु घर दैलो कार्यक्रममा देखिने गरेका छन् । राप्रपाले गायक संजय श्रेष्ठ र मिरा राणालाई पनि प्रत्यक्षमा उठाएको छ ।

 

 

रेखा थापा कुदिन एमाओवादीको मेची महाकाली चुनावी अभियानमा

 

एमाओवादीलाई दोस्रो संविधान सभा निर्वाचनमा अत्याधिक बहुमत ल्याएर विजयी गराउन अन्य कलाकारको टोलीसँगै अभिनेत्री रेखा थापा यतिखेर मेची महाकाली अभियानमा सक्रिय छिन् । कार्तिक २३ गते उपाध्यक्ष बाबुराम भट्टराईको प्रत्यक्ष चुनावी क्षेत्र वुटवलमा रेखा पुगेकी थिइन् । उनी अभियान सुरु भएको चौथो दिनबाट मात्रै एमाओवादीको चुनावी प्रचारमा सक्रिय भएकी हुन् ।

 

कमरेड रेखाले हँसिया हतौडामा भोट दिनुस भन्दै भोजपुरी गीतको म्यूजिक भिडियोमा समेत नाचेकी छिन् । मतदाता नामावलीमा नाम छुटेकाले प्रत्यक्षको टिकट पार्टीलाई फिर्ता दिनु परेपनि रेखाले पार्टीलाई जिताउन सहयोग गर्ने बताउँदै आएकी छिन् ।