फिल्मको समाचार सम्प्रेषण गर्ने पत्रकार फिल्मकर्मी हुने भिड बढ्दो छ । डाक्टर प्रदीप भट्टराई, डब्बु क्षेत्री, दिपेन्द्र लामा, लक्ष्मण सुवेदी, श्याम अर्याल, सुब्रत आचार्य, सामिप्य तिमल्सिना लगायत पत्रकारबाट फिल्मकर्मी भएका छन् ।
फिल्मको समिक्षा समेत गर्ने डाक्टर भट्टराईले 'वान वे' फिल्मको पटकथा तयार गरेका छन् । राजकुमार राई निर्मित फिल्मको दशैं अगाडी सुटिङ सकेर पोष्टको कार्य भैरहेको छ । सुरज सुब्बा नाल्बो निर्देशित फिल्ममा रविन तामाङ, करिश्मा मानान्धर, विल्सन विक्रम राई लगायतको मुख्य अभिनय छ । फिल्मको रिलिज मिति तय भैसकेको छैन ।
दैनिक पत्रिकामा कार्यरत डब्बु क्षेत्री निर्देशित 'राहदानी' नामक फिल्म पनि पोष्टमै छ । दयाह्याङ राई, रूपा खनाल लगायत नयाँ अनुहारको बाहुल्यता रहेको फिल्मको प्रदर्शनमा समय लाग्ने बुझिएको छ । 'राहदानी' युनिटले तिहारको छेकोमा एक कार्यक्रम गर्दै देउसी भैलो कार्यक्रम राखेको थियो ।
त्यस्तै समिक्षक समेत रहेका नागरिक दैनिकमा कार्यरत दिपेन्द्र लामा पनि फिल्म 'नागबेली' मार्फत पटकथाकार बनेका छन् । नेपाली तथा हिन्दी फिल्मको समिक्षामा खरो रुपमा उत्रने लामाको नागबेली कस्तो बनेको छ ? फिल्मकर्मी बिच राम्रै चर्चा चल्ने गरेको छ । फिल्मलाई नृत्य निर्देशक गोविन्द राईले निर्देशन गरेका छन् । 'नागबेली'मा दयाह्याङसँगै हर्षिका श्रेष्ठ, विक्की मल्ल, यशराज गरच, सुरभी जैन बिष्ट, अशोक फुयाँल लगायतको अभिनय छ । यो फिल्मको पनि रिलिज मिति तय भैसकेको छैन । फिल्मको हाल विदेशका विभिन्न मुलुकमा च्यारेटी भैरहेको छ ।
दैनिक पत्रिकाका लक्ष्मण सुवेदीले निर्देशन गर्ने भनिएको फिल्म 'एउटा साथी'को भने अहिलेसम्म सुटिङ सुरु हुन सकेको छैन । निर्देशक शोभित बस्नेतको फिल्म निर्माण कम्पनी सलोन फिल्मसले भव्य कार्यक्रमका बिच फिल्म निर्माण गर्ने घोषणा गरेको थियो । फिल्ममा निर्माता तथा निर्देशककै पुत्र सलोन बस्नेत, रिस्ता बस्नेत, करिष्मा श्रेष्ठ र सुमिना घिमिरे अतिथि भुमिकामा फाइनल भएका थिए । 'एउटा साथी' चुनाव अघि फ्लोरमा नजाने बुझिएको छ । पत्रकार सुवेदीले यसअघि स्टार फिल्म निर्माण गरेको थिए ।
अर्का सञ्चारकर्मी श्याम अर्याल हिरो भएको फिल्म 'प्रोड्यूसर'ले भने माघ १७ गतेलाई आफ्नो रिलिज मिति तय गरेको छ । देशका विभिन्न क्षेत्रमा च्यारेटी गर्दै हिंडेको यो फिल्मको एक पटक भने पोष्टपोण्ड भईसकेको छ । जनकदिप पराजुली निर्देशित यस फिल्ममा टेलिभिजन पत्रकार अर्यालसँगै विल्सन विक्रम राई र बाबु बोगटीको मुख्य भुमिका छ । यो फिल्मलाई राजकुमार राई निर्माण गरेका हुन् । यस फिल्मका निर्देशक पराजुली पनि सञ्चारकर्मी नै हुन् ।
अर्का सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गर्ने भनिएको फिल्म 'अधकट्टी'को पनि सुटिङ शुरू हुन सकेको छैन । भाद्र महिनामा नै सुटिङ गर्ने भनिएको यो फिल्मको प्रि-प्रोडक्सनको कार्य सकिएको अवस्थामा छ । निर्देशक बन्न लागेका आचार्यले चुनाव पछि मात्र सुटिङ शुरू हुने जानकारी गराएका छन् । प्रदीप उदयले निर्माण गर्ने यो फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, प्रदीप बाँस्तोला लगायतको अभिनय रहने छ ।
नागरिक दैनिकमै कार्यरत अर्का सञ्चारकर्मी सामिप्य तिमल्सिनाले लेखेको फिल्म 'स्टुपिड मन'को थाईल्याण्डमा सुटिङ सकेर युनिट तिहार अगाडी नेपाल फर्केको छ । थाईल्याण्डमा सुटिङ गर्न नसकिएको केहि प्रतिशत भाग नेपालमा सुटिङ गर्ने तयारी गरिएको छ । अभिनेता निरज बरालको निर्माणमा दिवाकर भट्टराईले निर्देशन गरेको यो फिल्ममा जीवन लुईटेल, निरज बराल, चाँदनी शर्मा, रिजु श्रेष्ठ र मार्टिन खानको मुख्य अभिनय रहेको छ ।

