सुन्दरी अभिनेत्री नन्दिता केसीले फिल्ममा टेक नदिएको लामै समय भैसक्यो । दशैं अगाडी युरोप यात्रा सकेर काठमाडौ आएकी नन्दिताले हालसम्म कुनै फिल्म साइन गरेकी छैनन् ।
'फिल्म खेल्ने कुरा चल्दैछ', नन्दिताले सुनाइन्- 'विदेशमा हुने एउटा साँस्कृतिक कार्यक्रमपछि फिल्ममा व्यस्त हुन्छु होला ।' मिडियामा बिहे गर्न बधु नपाएको गुनासो पोख्ने नन्दिताले फिल्मीखबरसँग भनिन्- 'फिल्म भन्दा पनि मैंले भर्खर मह जोडीसँग एउटा टेलिफिल्ममा काम गरेको छु ।'
हाँस्य सम्राटसँग काम गर्ने आफ्नो सपना पूरा भएको भन्दै नन्दिता खुसी भइन् । उनले आफ्नो खुसी साट्दै भनिन्- 'मह जोडीसँग काम गर्न एकदमै रमाइलो भयो । उहाँहरुसँग काम गर्न पाउनु मेरो लागि ठुलो खुसी हो ।' मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग नन्दिताले अभिनय गरेको टेलिफिल्मको 'स्यावास' नामाकरण गरिएको छ । केही सातापछि यो टेलिफिल्मलाई नेपाल टेलिभिजनमा हेर्न सकिनेछ ।

'स्यावास'मा नन्दिताले एक स्कूल गर्लको भुमिका निभाएकी छिन् । नन्दिताले गाउँमा मुखियाले गर्ने गलत निर्णय विरुद्ध आवाज उठाउने छिन् । काठमाडौं र धुम्पुसमा छायाँकन गरिएको यो टेलिफिल्म २ भाग मात्रै प्रसारण हुनेछ ।
पछिल्लो समय अभिनेत्रीहरुको व्यस्तता फिल्ममा भन्दा पनि म्यूजिक भिडियो, स्टेज कार्यक्रम र टेलिफिल्ममा बढ्न थालेको छ । कतिपय अभिनेत्रीहरु फिल्म नपाएर घरमा विश्राम लिइरहेको बसिरहेको अवस्था छ । नन्दितासँगै झरना थापा, शुष्मा कार्की, गरिमा पन्त, अनु शाह जस्ता अभिनेत्रीलाई अहिले फिल्म सुटिङको हतार छैन ।

