फिल्म निर्माण गर्नु मात्रै ठुलो कुरा रहेन । फिल्म निर्माण गरेर दर्शकसम्म ल्याउनु निर्माताको लागी फलामको चिउरा चपाए जस्तै भएको छ । दर्जनौं फिल्म छन् जो निर्माण भएको बर्षौं बितिसक्दा पनि प्रदर्शनमा आउन सकेका छैनन् ।
निर शाह निर्देशित 'अकाल' नामक फिल्म निर्माण भएको करिब पाँच वर्ष बितिसक्दा पनि प्रदर्शनमा आउन सकेको छैन । निर शाहकै निर्देशन रहेको 'मसान' फिल्म हलबाट उत्रिसक्दा पनि 'अकाल' किन प्रदर्शनमा आउन सकेन ? ले सम्पूर्ण काम सकेर वितरक उज्जवल पौडेल र मनोज राठी समुहलाई जिम्मा लगाएको बताउँछन् । वितरक टिमले फिल्म रिलिज डेट फाईनल गर्न सकेको छैन ।
'अकाल'मा राजेश हमाल र रेखा थापाको मुख्य भुमिका छ । सम्भवतः आगामी फिल्ममा राजेश र रेखालाई दर्शकले फिल्मको एउटै फ्रेममा देख्न पाउने छैनन् । राजेश हमाल फिल्म भन्दा पनि सभा, समारोह, गोष्ठी, महोत्सव र उद्घाटन कार्यक्रममा व्यस्त हुन थालेका छन् भने रेखा होम प्रोडक्सनको फिल्म खेलेर राजनीतिमा सक्रिय हुने योजनामा छिन् ।
निर्देशक तथा सम्पादक सिमोस सुनुवारसँगको लफडाले रेश मरहठ्ठाको 'च्यालेञ्ज' फिल्म पनि करिब ३ वर्षदेखि पोष्टप्रोडक्सनमै अड्किएको छ । फिल्म सम्पादनको जिम्मा पाएका सुनुवार 'च्यालेञ्ज'कै कारण पुलिस थानामा पुगेका थिए । सिमोस र रेश बिचको सहमती पश्चात पनि 'च्यालेञ्ज' कहिले रिलिज हुन्छ ? यस्को उत्तर पाउन सम्भवतः समय लाग्न सक्छ । च्यालेञ्जमा निर्माता मरहठ्ठा स्वयम, रेखा थापा, आयुष रिजाल र खुस्बु न्यौपानेको मुख्य भुमिका छ । यो फिल्मलाई श्याम भट्टराईले निर्देशन गरेका हुन् ।
'अकाल' र 'च्यालेञ्ज' जस्तै अड्किएको अर्को फिल्म हो 'सौर्य' । 'लुट' भन्दा निकै अगाडी छायाँकन गरिएको 'सौर्य' फिल्म आजको मितिसम्म पनि प्रदर्शनमा आउन सकेको छैन । फिल्ममा सौगात मल्ल सुपरहिरोको रुपमा देखिएका छन् । राजेश हमाललाई पनि सौर्यमा देख्न सकिन्छ । अभिनेत्री प्रियंका कार्कीले ठुलो पर्दामा पहिलो पटक टेक दिएको 'मेरो वेस्ट फ्रेन्ड' नामक फिल्म पनि प्रदर्शनमा आउन सकेको छैन । प्रशन्न पौडेल निर्देशित यो फिल्म रिसुट गर्ने भन्दै पोष्टमै अल्झिएको छ । प्रशन्न 'मेरो वेस्ट फ्रेन्ड'को काम पूरा नगर्दै अन्य फिल्म निर्देशनको घोषणामा व्यस्त छन् ।
निर्माताको बैङ्क अकाउन्ट रित्तो भएपछि 'मेरो भ्यालेनटाइन' नामक फिल्म पनि प्रदर्शनमा आउन सकेको छैन । निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह लगायतको अभिनय रहेको 'मेरो भ्यालेनटाइन'ले कति वटा भ्यालेनटाइन कटाउँछ ? हेर्न बाँकी छ । त्यस्तै माधव वाग्ले र नरेन्द्र महर्जनको 'मिसन पैसा रिलोडेड' पनि प्रदर्शनमा आउन सकेको छैन । फिल्मको केही समय अगाडी रिसुट गरिएको थियो । बुझिए अनुसार निर्माताद्धय फिल्म रिलिज गर्ने उचित समयको पर्खाइमा छन् ।
बिनिता बरालको तेस्रो फिल्म 'सुपरहिट', सुरज सुब्बा नाल्बो निर्देशित 'माइ प्रमिश', दिपेन्द्र के. खनाल निर्देशित 'झोले' लगायतका फिल्म प्रदर्शन मिति पर्खेर बसेका छन् । प्रदर्शन मिति लम्बिदैं जाँदा निर्माताको बजेट बढ्नुसँगै दर्शकले पनि पुरानो फिल्मलाई नहेर्ने सम्भावना नहोला भन्न सकिंदैन ।

