यस बर्षको दिपावलीले बिदाई लिईसकेको छ । दिपावलीको रमझममा रहेका फिल्मकर्मीको भाइटिकाको भोलिपल्टबाटै व्यस्तता बढ्न थालेको छ ।
अभिनेत्री प्रियंका कार्की तिहार सकिए लगत्तै 'नाइ नभन्नु ल २' को सुटिङमा व्यस्त छिन् । प्रियंकाले सानी आमा र मामाको छोराहरुलाई भाइटिका लगाइदिइन् । क्यामेरा पर्सन हरी हुमागाइँ यो तिहारबाट प्रियंकाका टिका लगाउने दाजु बनेका छन् । अमेरिकामा रहेका आफ्नै भाइलाई भने उनले मनबाट मात्रै पूजा गरिन् । निधारमा टिका लगाउन पाइनन् ।

तिहारको झिलिमिली बत्तीले रोमाञ्चित हुने प्रियंका भन्छिन्- 'मलाई तिहारको बिदामा पनि सुटिङ्को औधी याद आएको थियो ।' विकास आचार्य निर्देशित फिल्ममा प्रियंकासँगै अनुभव रेग्मी, जीवन लुइटेल, सुरज सिंह ठकुरी, सुज्ञानी भट्टराई लगायतको मुख्य अभिनय छ । ४० प्रतिशत सुटिङ सकिएको यस फिल्मको हाल राजधानीमा छायाँकन भैरहेको छ ।

अभिनेत्री नम्रता श्रेष्ठ पनि भाइटिका लगत्तै नोभेम्वर रेनको सुटिङमा व्यस्त छिन् । सुवास गिरी र अभिनेता आर्यन सिग्देलको संयुत्त लगानी रहेको नोभेम्वर रेनले युनिटले तिहारमा देउसी भैलो समेत खेलेको थियो । नम्रता श्रेष्ठ, आर्यन सिग्देल र छुल्ठिम गुरुङ्को मुख्य अभिनय रहेको फिल्मलाई निर्देशक दिनेश राउतले निर्देशन गर्दैछन् । धरानपछि फिल्मको सुटिङ काठमाडौंमा हुँदैछ । फिल्मको ८० प्रतिशत सुटिङ सकिएको निर्माता गिरीले जानकारी गराए ।

अभिनेता श्रीकृष्ण श्रेष्ठले निर्माण गर्दै गरेको फिल्म कोहिनुर युनिट पनि तिहार लगत्तै छायाँकनमा उत्रिएको छ । मुम्बइमा सुटिङ सकेर काठमाडौं फर्किएको सुटिङ युनिटले बिहिबारदेखि सुटिङ सुरु गरेको छ । आकाश अधिकारी निर्देशित कोहिनुरमा श्रीकृष्ण श्रेष्ठ र श्वेता भट्टराईको मुख्य अभिनय छ । यो फिल्मको पनि सुटिङ अन्तिम चरणमा पुगेको छ ।

