संविधान सभाको चुनाव होस, संविधान बनोस, सबै नेपाली फिल्म सफल होउन जस्तो कामना गर्दै फिल्म ‘राहदानी’ युनिटले बिहिबार काठमाडौंको कलंकी हलमा देउसी खेलेको छ । तिहारको प्रसंग समेटिएको फिल्मको मारुनी गीत सार्वजनिक कार्यक्रममा देउसी खेलेर तिहारको स्वागत गरिएको हो ।

कार्यक्रममा डा. गोबिन्द कुसुमको रचना, बसन्त सापकोटाको संगीत र निशा देसारको स्वर रहेको सो गीतको भिडियो सार्वजनिक गरिएको थियो । मुलुक जोगाउन संस्कृति जोगाउनु आवश्यक भएको बताउँदै राहदानीको सल्लाहकार एवं गीतकार डा. कुसुमले राहदानीमा मारुनी गीत राखिएको बताए । यस्तै संगीतकार सापकोटाले पूर्वी नेपालमा प्रचलित मारुनी गीत कालजायी बन्ने विश्वास लिए ।

मारुनी गाउने चाहना बिगतमै भएपनि राहदानीबाट आफ्नो चाहना पुरा भएको गायिका निशा देसारले बताईन् । यो फिल्मको देशव्यापी प्रदर्शनी २७ चैतबाट गरिने प्रस्तुतकर्ता लक्ष्मी प्रसाद ढकालले कार्यक्रममा जानकारी गराए । फिल्मको निर्माण कार्य कात्तिकमै पुरा हुने र मंसिरबाटै विभिन्न ठाउँमा च्यारिटीको रुपमा बिशेष प्रदर्शन कार्य सुरु गरिने पनि ढकालले जानकारी गराए । बैदेशिक रोजगारमा नेपालीहरुले भोग्नु परेको पीडालाई फिल्ममा मुख्य कथा बनाएर प्रस्तुत गरिएको यसका लेखक तथा निर्देशक डव्बु क्षेत्रीले प्रकाश पारे ।

चलचित्र पत्रकार संघका अध्यक्ष बिदूर गिरी र शान्तिप्रियले सञ्चारकर्मीले बनाएको राहदानीले दर्शकलाई न्याय गर्ने विश्वास आफुले लिएको बताए । दयाहाङ राई, अशोक रिजाल, नविन लम्साल, रुपा खनाल, बिनिता घिमिरे, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, अस्मिता बस्नेत, विधा कार्की, तेन्जिङ शेर्पा, विकाश जोसी, अयुस्मा श्रेष्ठ, शैलेन्द्र बस्नेत सहितको अभिनय रहेको राहदानीको छायाँकार रामशरण उप्रेती र नृत्य निर्देशक राजु शाह हुन् ।

