वर्ष ७० को दशैं फिल्म क्षेत्रको लागि उत्साहप्रद रह्यो । दशैंको अवसरमा प्रदर्शन भएको रेखा थापाको फिल्म 'काली' दुई करोडको ग्रस कलेक्सन सहित तेस्रो हप्तामा प्रदर्शन भैरहेको छ । कालीलाई टक्कर दिन मनोज राठी समुहले फुलपातीमै रिलिज गरेको 'दामिनी' फिल्म पनि घाटामा गएन ।
दशैंमा जस्तै तिहारमा प्रदर्शन हुने फिल्मले पनि हिटको व्यापार गर्लान् ? स्थिति सहज नदेखिएपनि वितरक, निर्माता तथा हलवाला नरेन्द्र महर्जन भन्छन्- 'दशैंमा आएका दर्शक तिहारमा पनि आउँछन् भन्ने हाम्रो आश छ । तिहारका फिल्म सफल हुनेमा हामी आशावादी छौं ।' बलिउडको बहुप्रतिक्षित 'क्रिष थ्री' नेपालमा पनि प्रदर्शन हुने भएपछि नेपाली फिल्मलाई असहज हुने देखिएको छ । नेपाली मल्टिप्लेक्स 'क्रिष थ्री' मय हुनेछ जस्को प्रत्यक्ष असर नेपाली फिल्मलाई पर्ने देखिन्छ ।
तिहारमा 'क्रिष थ्री'सँग नेपाली फिल्म 'मधुमास' र 'विन्दास २'ले प्रतिस्पर्धा गर्दैछन् । जुन प्रतिस्पर्धा चुनौती पूर्ण हुने देखिएको छ । जीवन लुइँटेल र शुष्मा कार्की अभिनित 'विन्दास २' फ्रेस रिलिज फिल्म हो भने 'मधुमास'को तिहार रिलिज दोश्रो चरणको हुनेछ । आर्यन सिग्देल, मनोज आरसी, पूजा शर्मा र शिवाङ्गीनि राणा अभिनित फिल्म काठमाडौं र मोफसलका केही शहरमा प्रदर्शनरत छ ।
'क्रिष थ्री'कै कारण नेपाली फिल्मलाई हल पाउन पनि कठिन हुने देखिएको छ । जसरी कालीले दशैंमा ८० भन्दा बढी पर्दा पाएको थियो । 'क्रिष थ्री'को आगमनको बाबजुद पनि विन्दास २ र मधुमासले तिहारमा सफल व्यापार गरुन् हाम्रो शुभकामना !

