पार्श्व गायनमा बर्षौंदेखि राज गरिरहेका राजेश पायल राई देश देखि विदेशमा निकै चर्चित छन् । साँगितिक कार्यक्रमका लागि सबैभन्दा बढि बिदेश भ्रमण गर्ने लिस्टमा पर्ने यि गायकले दर्जनौं फिल्मका लागि हिट गीत दिएका छन् ।

थुप्रै बिदेशी भाषामा समेत गीत गाएर चर्चामा आएका राजेशले बलिउडमा पनि आफ्नो ढोका खुलेको बताउँछन् । भर्खरै मात्र हिन्दि फिल्म 'नजाने क्यों'मा समेत स्वर दिएका राईको 'सिलाके जवानी' नामक भोजपुरी एल्बमले भारतको भोजपुरी संगीत बजारमा राम्रो स्थान पाएको छ । यिनै चर्चित गायकले आइतबार धरानस्थित सैनिक भवनमा सम्पन्न याक्थुङ पालाम साँझमा पहिलो पल्ट लिम्बु गीत पनि गाए ।
लिम्बु भाषा राम्रोसँग उच्चारण गर्न नसक्ने राजेशले लिम्बु गीत भने मज्जैले गाए । लिम्बु पहिरनमा नै स्टेजमा आएका राजेशले 'हाक्पारे ख्याली, थेगेक , सिरबन्दि , चेथ्याके लगायतका लिम्बु भाषाका गीतहरु गाएर हलभरि बसेका दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए । गत वर्ष 'आसेवारो' नामक लिम्बु भाषाको एल्बम बजारमा ल्याएका राईले बिच बिचमा ठट्टा गर्दै आफ्नो बिहेको प्रसङ्ग कोट्याउदै भन्थे- 'राम्री केटी पाए अहिले नै लण्डनबाट पापा मम्मीलाई बोलाएर बिहे गर्छु ।'

चाडै नै राई भाषाको समेत एल्बम निकाल्न लागेका राईलाई साथ दिन निर्देशक दीपक श्रेष्ठ, उनका सहपाठी धराने संगीतकर्मी हेम सुब्बा, गायक एपी शेर्पा, भिसन मुकारुङ्ग समेत आएका थिए । निर्देशक दीपक श्रेष्ठले कार्यक्रममा बोल्दै गायक पायलको प्रशंशा गरेका थिए । केहि दिन अगाडी मात्रै 'दर्शन नमस्ते २' एल्बम बजारमा ल्याएका राजेशले सागर सरि, सर सर, बल्ल भेट भो , दर्शन नमस्ते, मोहनी लाग्ला है लगायतका डेढ दर्जन चर्चित गीतहरु समेत प्रस्तुत गरेर कार्यक्रमबाट बिट मारेका थिए ।

